तपाईँ सुन्दै हुनुहुन्छः

केरा खेतिबाट मनग्य आम्दानी

 स्याङ्जा । उमेरले ६० वर्ष पुग्नुभएका स्याङ्जाको गल्याङका लेखनाथ भट्टराईको खेत केरा बगानले ढाकिएको छ । गल्याङ ११ दिमिकका भट्टराईको १३ रोपनी खेतमा अहिले पहेँलै र हरियो केरा देखिन्छन् । कुनै घारीमा पहेँलो र कुनैमा हरियो केरा देखिन्छन् उहाँको केरा बगानमा । उमेरले ६० वर्ष पुगेपनि उहाँको जोस जाँगर युवाको भन्दा कम देखिँदैन् । उहाँले २०६८ सालदेखि केरा खेति गर्दै आउनुभएको छ ।

शुरुमा १ सय केराका बोटबाट शुरु भएको केराखेति अहिले उहाँको १३ रोपनी क्षेत्रफलमा फैलिएको छ । ६० मुरी धान फल्ने खेतमा उहाँले केरा खेति गर्नुभएको छ । उहाँले हरेक वर्ष केरा विस्तार गर्दै अहिले १३ रोपनीमा पु¥याउनु भएको हो ।

धान, मकै, गहुँले भन्दा केराखेतिले धेरै आम्दानी लिन सकिएको उहाँको अनुभव छ । नगदे बाली, धेरै मेहेनत गर्न नपर्ने केराखेतिले उहाँलाई पर्फुलित पारेको छ । उहाँ भन्नुहुन्छ, ‘धान मकै भन्दा नगदेबालीबाट फाईदा छ । कम मेहेनतले पनि पुग्ने, बजारका लागी कुनै समस्या छैन् । घरबाटै खुद्रा तथा होलसेल विक्रि गर्दै आएको छु ।’

कोरोनाका कारण गरिएको लकडाउनमा समेत घरबाटै सजिलै केरा विक्रि भएको उहाँले बताउनुभयो । पारिवारिक वातावरणले नै उहाँलाई कृषिमा अभिप्रेरित गरेको हो । केरा खेतिबाट उहाँले वार्षिक ६ लाखको कारोबार गर्दै आउनु भएको छ । कृषि ज्ञान केन्द्रले दिएको ५ लाख र आफ्नो कमाई ५ लाख गरी १० लाखको केरा बगानमै स्टोर समेत बनाउनु भएको उहाँले बताउनुभयो । स्टोरमा केरा र केरा खेतिका लागी आवश्यक औजारहरु समेत राखिएका छन् ।

केरा खेतिका लागि सिंचाईको समेत आवश्यक पर्ने र केराका बोट वरिपरि समय समयमा मलखाद राखिदिनुपर्ने हुन्छ । तर केरा खेती गर्दा जनशक्तिको धेरै नलाग्ने र नियमित आम्दानी हुने हुँदा पहाडी क्षेत्रमा केरा खेती उपयुक्त रहेको भट्टराईले बताउनुभयो । केरा खेती गर्न ईच्छुक कृषकलाई बिरुवा तथा अन्य परामर्श समेत दिने गरेको उहाँले बताउनुभयो ।

केरामा मलखाद राख्नुपर्दा कामदार आवश्यक परेपनि अन्य सामान्य गोडमेल, रोगकिराको निगरानीका लागी उहाँ स्वयम खटिनुभएको छ । देशका मेरुदण्डका रुपमा रहेका युवाहरु हरेक दिन पैसा कमाउँनका लागी विदेशनै धाउनुपरेका बेला ६० वर्षीय भट्टराई एक उदाहरण बन्नुभएको छ । पैसा कमाउनका लागी विदेशनै जानुभन्दा हाम्रै वरिपरिका जग्गा जमिनलाई सही सदुपयोग गरी कृषि पेशाबाट समेत प्रशस्तै आम्दानी गर्न सकिन्छ भन्ने पाठ उहाँबाट लिन सकिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button