सल्यानमा मकै र धान उत्पादन बढ्यो

सल्यान । सल्यानमा यस बर्ष वर्षे बाली मकै र धान उत्पादनमा बृद्धि भएको छ ।
कृषि विकास कार्यालय सल्यानका अनुसार जिल्लाका बिभिन्न क्षेत्रहरुमा गरिएको धान र मकैँ खेतीमा गत बर्षको तुलनामा यस बर्ष उत्पादन बृद्धि भएको हो ।
कार्यालयका अनुसार गत बर्षको तुलनामा यस बर्ष मकैँ उत्पादनमा १५ दशमलव ६६ प्रतिशत र धान उत्पादनमा १ दशमलव २५ प्रतिशतले उत्पादनमा बृद्धि भएको छ ।
चालु आर्थिक बर्षमा सल्यानमा १९ हजार ४० हेक्टर क्षेत्रफलमा गरिएको मकै खेतीमा ६८ हजार ५ सय ४४ मेट्रिक टन उत्पादन भएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशम कुमार बस्नेतले जानकारी दिए ।
उनका अनुसार गत बर्ष १९ हजार २५ हेक्टर क्षेत्रफलमा गरिएको मकैँ खेतीमा ५९ हजार २ सय ६१ मेट्रिक टन मकै उत्पादन भएको थियो ।
कोरोनाका कारण शहरबाट नागरिकहरु गाउँ फर्किएर कृषि कार्यमा लाग्नु, तरकारीले प्रख्यात कपुरकोट क्षेत्रमा यस बर्ष वर्षे तरकारी नलगाएर मकैँ रोप्नु जस्ता कारणले जिल्लाभर मकै उत्पादनमा बृद्धि भएको उनको भनाई छ ।
‘उन्नत जातको मकैँको वीउ वितरण गरिनु, आबश्यक ज्ञान प्रदान गरिनु तथा गत बर्षको तुलनामा बढी क्षेत्रफलमा खेती गरिएकाले पनि यस बर्ष मकैँ उत्पादनमा बृद्धि भएको हो’। जिल्लामा मकै प्रशस्त मात्रामा उत्पादन हुन्छ, जिल्लाभर उत्पादित मकै स्थानिय रुपमा खपत भएर केही जिल्ला बाहिर पनि निर्यात हुने गरेको उनको भनाई छ ।
यस्तै जिल्लामा यस बर्ष धान उत्पादनमा पनि बृद्धि भएको छ । यस बर्ष ७ हजार ७६ हेक्टर क्षेत्रफलमा गरिएको धान खेतीमा २९ हजार ७ सय १९ मेट्रिक टन धान उत्पादन भएको छ ।
यस्तै ६ हेक्टर क्षेत्रफलमा गरिएको घैया धान खेतीमा १६ मेट्रिक टन उत्पादन भएको छ । गत बर्ष ७ हजार ७२ हेक्टर क्षेत्रफलमा धान खेती गर्दा २९ हजार ३ सय ९३ मेट्रिक टन धान उत्पादन भएको थियो ।
गत बर्षको तुलनामा बढी क्षेत्रफलमा धान खेती गरिनु, समयमा नै धान खेती शुरु गरिनु, हाइबे्रड धानको वीउ वितरण गरिनु, सिँचाइको सुविधा पुग्नुले पनि जिल्लाभर धान उत्पादन भएको कार्यालयको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्