कोभिड अस्पतालबाटै कोरोना सर्ने जोखिम

सप्तरी । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–२ स्थित सितापुरमा संचालित कोभिड अस्पतालबाटै समुदायमा कोरोना सर्ने जोखिम बढेको छ ।
कोभिड अस्पताल संगै जोडिएको स्वास्थ्य चौकीमा सेवाग्राहीहरुको बाक्लो आवातजावत हुने गरेका कारण समुदायस्तरमा कोरोना सर्ने जोखिम बढेको हो ।
स्वास्थ्य चौकीको भवनमा कोभिड अस्पताल संचालनमा ल्याउदा कोरोना सर्ने सम्भावना बढेको स्थानीयहरु बताउछ्न । कोभिड अस्पताल संचालनमा ल्याउनु खुशीको कुरा हो स्थानीय मिलन चौधरीले भने, तर सुरक्षाका निम्ति स्वास्थ्य मापदण्ड खै त? कोभिड अस्पतालसंगै स्वास्थ्य चौकी, बर्थिङ्ग सेन्टर लगायतका सेवाहरु एकै ठाउँमा हुदा कोरोना सर्ने बढी जोखिम रहेको चौधरीले बताए ।
कोभिड अस्पताल संचालनमा ल्याउनु अघि कोरोनाबाट पूर्व सुरक्षित र सावधानी नअपनाउदा कोरोना सार्न गाउँपालिकाले नै भूमिका खेलेको स्थानीयको आरोप छ । कोभिड अस्पतालमा खाने, पिउने व्यवस्था नहुदा संक्रमितको आफान्तले जोखिम मोल्दै सम्पर्कमा आउनु पर्ने संक्रमितका आफन्तहरूको गुनासो छ ।
नामको मात्र कोभिड अस्पताल पानी पिउने सम्मको व्यवस्था छैन, एक कोरोना संक्रमितका आफन्तले भने, बिहान, आफैले घरबाट चिया पुर्याउनु पर्छ । दिनमा खाना लिएर आफै पुग्नुपर्छ । कोभिड अस्पताल संचालनमा आएपछि स्वास्थ्य चौकीमा कार्यारत स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ भएको स्थानीयले जानकारी गराएका छन् ।
कोभिड अस्पतालमा सिधा जनसम्पर्क हुन नदिन कोभिड अस्पताल र स्वास्थ्य चौकीको बिचमा बाल निर्माण गर्ने भनिएपनी गाउँपालिकाले बेवास्था गरेको स्थानीयको दुखेसो छ । कोभिड अस्पतालमा कुनै प्रकारको संकेत, बोर्डहरु नहुदा स्वास्थ्य सेवा लिन आएकाहरु संक्रमितहरुको सम्पर्कमा सिधै पुग्ने गरेको स्वास्थ्य चौकीका कर्मचारीहरु बताउँछन् ।
यसअघी स्वास्थ्य चौकीको भवनमा कोभिड अस्पताल संचालन गर्ने र स्वास्थ्यसेवाहरुलाई अन्यत्र सर्ने गाउपालिकाको निर्णय सार्वजनिक भएपछि बिरोध भएको थियोे । स्थानीयले बिरोध जनाएपछि गाउँपालिका आफ्नो निर्णयबाट पछि हटेको थियो ।
कोभिड अस्पताल स्वास्थ्य चौकीको भवनमा राख्ने र अन्य स्वास्थ्य सेवालाई गाउँपालिकाको केन्द्र अगाडि रहेको गोदाम घरमा सुचारु गर्ने स्थानीयसंग सहमति भएपनी त्यसो नगरी कसैलाई थाहा नदिई सुटुकै गाउँ सभा सदस्यहरूको उपस्तिथिमा गाउँपालिका अध्यक्ष पर्शुराम चौधरीले कोभिड अस्पताल उद्वघाटन गरेका थिए ।
गाउँपालिका अध्यक्ष पर्शुराम चौधरीले गाउँपालिकाबाट केही कमजोरी भएको स्वीकार गरेका छन । गाउँपालिकाबाट गर्नुपर्ने व्यवस्थामा कमि हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष चौधरीले आजै गएर यथार्थ बुझ्ने प्रतिक्रिया दिनुभयो । उहाँले गाउँपालिकामा संक्रमितहरुको संख्यामा थप वृद्धि हुँदै गएकोले एक जना डाक्टर सहितको स्वास्थ्यकर्मिको टोलि र दुईवटा अक्सिजनको ब्यवस्था मिलाएको जानकारी दिनुभयो ।
कोभिड अस्पतालमा ५ वटा मात्र बेड संख्या रहेकोले अधिकाँश होम आइसोलेसनमा बस्ने व्यवस्था मिलाएको तथा गम्भीर अवस्थाका बिमारीलाई मात्र कोभिड अस्पतालमा राख्ने गरेको अध्यक्ष चौधरीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्