स्वास्थ्य राज्यमन्त्री रावतद्धारा भेरी अस्पतालको निरीक्षण

बाँके। स्वास्थ्य राज्यमन्त्री नवराज रावतले भेरी अस्पतालको सेवा र भौतिक संरचनाको सोमवार विहान निरीक्षण गर्नुभएको छ । गृह जिल्ला सुर्खेतबाट फर्किने क्रममा भेरी अस्पतालको अवस्थाका बारेमा जानकारी लिन पुग्नुभएका मन्त्री रावतले पश्चिम नेपालको रेफ्रल अस्पतालको रुपमा रहेको भेरी अस्पतालको झण्डै ९० बर्ष पुरानो संरचना भत्काएर नयाँ निर्माणका लागि योजना बनाउन निर्देशन दिनुभयो ।
उहाँले कोभिड–१९ का विरामीको उपचारमा भेरी अस्पतालले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै थप सुविधा सम्पन्न बनाउन पहल गर्ने आश्वासन दिनुभयो । मन्त्री रावतले नयाँ प्रविधि र उपकरणको प्रयोगमा जोड् दिनुहुदै अस्पतालमा उपलब्ध उपकरण र भौतिक संरचनाको सहि सदुपयोग गर्न अस्पताल प्रशासनलाई निर्देशन समेत दिनुभयो ।
सो अवसरमा भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोदकुमार धितालले भेरी अस्पतालले कोभिडका विरामीलाई दिँदै आएको सेवा, भौतिक संरचना, उपकरण लगायतका विषयमा जानकारी गराउनुभएको थियो । धितालले ७२ बेडको आइसोलेशनले विरामी थेग्न नसकेकोले थप ८० बेडको आइसोलेशन निर्माण भइरहेको जानकारी गराउनुभयो ।
भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले थप ८० बेडको कोभिड आइसालेशन एक हप्ताभित्र संचालनमा आउने मन्त्री रावतलाई जानकारी गराउनुभयो । उहाँले नयाँ निर्माण भइरहेको आइसोलेशनको हरेक बेडमा अक्सिजनको ब्यवस्था गरिएको बताउनुभयो ।
मन्त्री रावतले आइसोलेशन वार्ड, निर्माणाधिन नयाँ भवन, प्रयोगशाला, निर्माण भइरहेको आइसोलेशन वार्डको निरीक्षण गर्नुभयो । सो अवसरमा अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठ, धनिराम ओली, मेट्रोन दुर्गालक्ष्मी श्रेष्ठ, कोभिड वार्डका संयोजक डा. श्यामसुन्दर यादव लगायतको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्