भैरहवा भन्सार कार्यालयद्वारा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन
रुपन्देही । कोभिड–१९ को महामारी समयमा देशको दोस्रो ठुलो भन्सार नाकाका रुपमा रहेको भैरहवा भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गरेको छ ।
भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको श्रावणदेखि कार्तिक मसान्तको चार महिना अवधिमा ३३ अर्व ७२ करोड ५४ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।
कार्यालयका भन्सार अधिकृत एवं सूचना अधिकारी पूर्णप्रसाद लम्सालले चार महिनामा लक्ष्यभन्दा १६ दशमलव २८ प्रतिशत बढी राजस्व सङ्कलन भएको जानकारी दिनुभएको छ ।
विगतमा भन्दा अटो (४ तथा २ पाङ्ग्रे सवारी) आयात बढी भएको र अन्य वस्तुहरूको आयात यो नाकाबाट राम्रो रहेकाले लक्ष्यभन्दा बढी राजश्व सङ्कलन भएको लम्सालले बताउनुभयो ।
भन्सार विभागले आर्थिक वर्ष २०७७/०७८ का लागि भैरहवा भन्सार कार्यालयलाई राजश्व सङ्कलनका लागि वार्षिक लक्ष्य ९८ अर्व ४५ करोड ४२ लाख दिएको छ । कार्तिक मसान्तसम्म वार्षिक लक्ष्यको सवा ३४ प्रतिशत सङ्कलन भएको लम्सालले बताउनुभयो ।
बन्दाबन्दीले गत आर्थिक वर्षमा अन्तिम चौमासिक अर्थात् चैत, वैशाख, जेठ, असारमा राजश्व सङ्कलन प्रभावित थियो ।
लकडाउनका कारण आयात न्यून हुँदा आर्थिक वर्ष २०७६/०७७ मा लक्ष्यको ६६ दशमलव ३१ प्रतिशत मात्र राजश्व उठेको थियो ।
सो वर्ष १ खर्व ६ अर्व ८९ लाख लक्ष्य रहेकोमा ७० अर्व २९ करोड ३ लाख रुपैयाँ मात्र सङ्कलन भएको थियो ।
भैरहवा भन्सार हुँदै आयात हुने मुख्य वस्तुहरूमा औद्योगिक कच्चा पदार्थ, पेट्रोलियम पदार्थ, अटो, मार्बल टायल, चामल, क्रुड आलय, तरकारी तथा फलफूल, कस्मेटिक सामान लगायत रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्