तिलोत्तमामा गर्भ जाँच गराउँदा प्रत्येक पटक उपहार

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मातृशिशु स्वास्थ्य प्रवद्र्धनको लागि गर्भवतीसँग नगर उपप्रमुख कार्यक्रम सञ्चालन गरेको छ ।
नगरपालिकाले गत वर्षबाट सुरु गरेको कार्यक्रमलाई थप प्रभावकारी बनाउन परिमार्जनसहित चालू आर्थिक वर्षमा निरन्तरता दिएको नगर उपप्रमुख जागेश्वरदेवी चौधरीले जानकारी दिनुभयो ।
परिमार्जित कार्यक्रमअनुसार गर्भावस्थामा नियमित चार पटक सरकारी स्वास्थ्य संस्थामा गर्भ जाँच गराउने महिलालाई विभिन्न उपहार दिने व्यवस्था मिलाइएको छ । जसअनुसार गर्भवती महिलाले ४ महिनामा स्वास्थ्य जाँच गराउँदा सुपानेट झुलसहित सन्देशमूलक क्यालेण्डर, ६ महिनामा पोषण सेट, ८ महिनामा सरसफाई सेट र ९ महिनामा मसला सेट प्राप्त गर्नेछन् ।
यस्तै नगरका बर्थिङ सेन्टरमा सुत्केरी सेवा लिने महिलाले शिशु–स्याहार सेट तथा संघीय सरकारले उपलब्ध गराउने यातायात रकमको अतिरिक्त थप एक हजार रुपैंयाँ प्रोत्साहन रकम प्राप्त गर्नेछन् । यस्तै नगरपालिकाले संघीय सरकारबाट प्राप्त हुने आइरन चक्कीसँगै आन्तरिक स्रोतबाट व्यवस्थापन गरेर गर्भवती महिलालाई निःशुल्क रुपमा क्यालसियम समेत दिने गरेको छ ।
गर्भावस्था विशेषावस्था भएकोले यो समयमा महिलालाई अतिरिक्त स्वास्थ्य सेवा, पोषण, स्याहार, सरसफाई आवश्यक हुनेहुँदा त्यसको सन्देश प्रवाहको लागि यो कार्यक्रम सुरु गरिएको नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्