सिन्धुपाल्चोकको ऐतिहासिक गौराती भीमेश्वर मेला स्थगन

चौतारा । सिन्धुपाल्चोक जिल्लाकै प्रसिद्ध गौराती भीमेश्वरको मेला स्थगित भएको छ ।
प्रत्येक कार्तिक पूर्णिमाको दिन लाग्ने सो मेला कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित भएको हो ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले मेलामा हुने भीडभाडका कारण कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्ने भन्दै यही मङ्सिर १५ गतेबाट सुरु हुने मेला स्थगित गर्न अनुरोध गरेपछि अनादिकालदेखि चल्दै आएको मेला स्थगन गरिएको गौराती विकास मञ्चका अध्यक्ष वाङगेल लामाले जानकारी दिनुभयो ।
प्रत्येक कार्तिक पूर्णिमाको दिनबाट ३ दिनसम्म सञ्चालन हुने मेलामा राष्ट्रभरिबाट हजारौंको संख्यामा भक्तजनहरु मेला भर्न आउने गर्दछन्।
परापूर्वकालमा एउटा गाईले मध्यरातमा हाल मन्दिर भएको थुम्कोमा दुध दिने गरेको र सो रहस्य चाल पाएपछि गोठालोले सो ठाउँ उत्खनन गरी हेर्दा दिव्यस्वरुप प्रकट भइ “म भीमसेन हुँ, मेरो नित्य पूजाआजा गरे मनोकाँक्षा पुरा हुन्छ“ भनि अन्तरध्यान भएको र सोही समयबाट मेला सुरु भएको जनविश्वास छ ।
गौ अर्थात गाई र राति गाईले दुध दिएको हुनाले सो ठाउँको नामाकरण गौराति रहन गएको अध्यक्ष लामा बताउँनु हुन्छ ।
यस वर्ष मेला स्थगन भएपछि मेलासँग सम्बन्धित बली पूजा र मेला लक्षित कुनै पनि ब्यापार व्यवसायीका लागि स्टल निर्माण नहुने तर परापूर्वकालदेखि चल्दै आएको मूलपूजा र गुठी पूजा भने सुचारु हुने पनि अध्यक्ष लामाले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्