तपाईँ सुन्दै हुनुहुन्छः

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै 

वीरगञ्ज  ।  छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै छ ।

खरनाका दिन बेलुकी गाइको गोबरले लिपपोत गरी माटाको नयाँ र चोखो चुल्होमा आँपको दाउराबाट अगहनीको चामलमा सख्खर हालेर तयार गरिएको रसियाव र चोखो पारिएको पिठोको रोटी पकाइन्छ ।

दिनभरि निराहार र निर्जला बसेका महिला, पुरुष बर्तालु राती चन्द्रमा उदाएपछि ‘रसियाव रोटी’लाई पूजा गरी अग्नि तथा गाइलाई अग्रासन अर्थात् पहिलो अंश दिएपछि आफूले खाने चलन छ ।

तराईको महत्त्वपूर्ण चार दिने छठ पर्व रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने गरिन्छ ।

पछिल्लो समयमा तराई र मधेसी समुदायले मात्र मनाउँदै आएको यो पर्व पहाडी समुदायलगायत मुस्लिम समुदाय एकै ठाउँमा बसेर भक्तिपूर्वक मनाउन थालेकाले छठ एकताको पर्वको रूपमा अघि बढ्दै गएको छ ।

पारिवारिक एवं सन्तानको सुख समृद्धिको कामना गरी नियम पूर्वक मनाइने छठ पर्वको भोलि (शुक्रवार मुख्य दिन रहेको छ ।

छठको पूजा सामग्री जलाशयमा लगेर अस्ताउँदो सूर्य र शनिबार उदाउँदो सूर्यलाई अर्घ दिइन्छ ।

छठ पर्वको पहिलो दिन नहाए खाए, दोस्रो दिन प्रसादको रूपमा खिर ग्रहण गरी खरना गर्ने, तेस्रो दिन अस्ताउँदो सूर्य र चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिइन्छ र उदाउँदो सूर्यलाई अर्घ दिने दिनलाई पारन पनि भनिन्छ । छठ पर्वमा बाँसको ढक्की, नांगलो माटोको कोसिया कुरबार, हात्तीलगायतको सामग्रीहरू चढाइन्छ ।

त्यस्तै, प्रसादको रूपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, बेसार, अदुवा एवं विविध प्रकारको मिठाइ तथा फलफूल सूर्य देवता अर्थात् दिनानाथलाई चढाउने गरिन्छ ।

अर्घ दिने बर्तालु ४८ घन्टासम्म पानी पनि नखाई उपवास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवान् अर्थात् दिनानाथलाई अर्घ दिन तयार गरिने परिकारहरू अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रूपमा मानिन्छ ।

यसै गरी कोरोना सङ्क्रमणको सतर्कताका कारण यस पटक वीरगन्जमा घाटहरूमा अघिल्ला वर्षहरूको जस्तो भव्य सजावट नगरे पनि व्रतालुको सहजताका लागि सरसफाइ र बत्तीको व्यवस्था मिलाइएको छ ।

कोभिड महामारीकै कारण वीरगञ्जमा यस वर्ष छठको तयारी फितलो देखिएको छ । लाखौँ खर्च गरेर छठ घाटमा सजावट हुने गरेकोमा यस वर्ष छठ घाट व्यवस्थापन समितिहरूले त्यसो गरेका छैनन् । देशभरमै आकर्षक सजावट हुने घडिअर्वा पोखरीमा यस वर्ष कुनै विशेष तयारी देखिँदैन ।

छठ पूजा व्यवस्थापन समिति घडिअर्वा छठ घाटका सचिव लखनलाल गुप्ताले पहिला छठ हुने÷नहुने अन्योलको अवस्था थियो । तर अहिले स्थानीय प्रशासनसँग परामर्श गर्दा परम्परागत चाड हो,  धेरै भिडभाड नहुने वातावरणसहित मनाउन आग्रह गरेपछि अहिले लाईटिङ्ग र सरसफाइको मात्रै काम भएको बताउनुभयो ।

विगतमा घडिअर्वा पोखरी सजावटमा १५ लाखको हाराहारीमा खर्च गरिने गरेकोमा यस बर्ष छठ घाटमा सरसफाइ र बत्ती लगाउनका लागि डेढ–दुई लाख मात्रै खर्च हुने गुप्ताले बताउनुभयो ।

पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले छठ पर्व सूर्य आराधना गरेर मनाइन्छ । छठलाई सूर्य षष्ठी, स्कन्ध षष्ठी र छठीमइया भनेर पूजा पनि भनिन्छ ।

जुनसुकै जाति र धर्मका मान्छेले मनाउन सकिने यो पर्व आर्थिक अभाव रहेकाहरूले भिक्षा मागेर पनि मनाउँछन् । दलित र गैर दलित एउटै थलोमा बसेर श्रद्धापूर्वक यो पर्व मान्छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button