विमानस्थलको सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट गठन गर्नुपर्ने : मन्त्री भट्टराई

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले विमानस्थलहरूको सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट गठन गर्नुपर्ने बताउनु भएको छ ।
आज त्रिभुवन विमानस्थल भित्र निर्मित सुरक्षा गार्ड भवनको समुद्घाटन गर्दै मन्त्री भट्टराईले ‘विमानस्थल सुरक्षा प्रहरी’ भनेर छुट्टै युनिट बनाउनुका लागि गृह, अर्थ, रक्षा र पर्यटन मन्त्रालयबीच छलफल चलिरहेको बताउनुभयो ।

उहाँले हाल मुलुकमा ५५ वटा विमानस्थल रहेकाले केही समय भित्रै पोखरा र भैरहवा विमानस्थल अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा सञ्चालनमा आउने भएकाले विमानस्थलको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर छुट्टै युनिट बनाउनेबारे छलफल चलाइएको बताउनुभयो ।
उहाँले एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल भएका कारण काठमाडौँ विमानस्थलमा अत्यधिक चाप हुने गरेकाले सबै मानिसहरू सफा नियतले मात्रै आउँछन् भन्ने नभएको बताउँदै लागू औषधको ओसारपसार, अन्तर्राष्ट्रिय आपराधिक सङ्गठनमा आबद्ध व्यक्तिहरूको ओहोरदोहोर जस्ता विषय उठ्ने गरेकाले यस्ता कामहरू हुन नदिन विमानस्थलको सुरक्षा मजबुत हुनुपर्ने बताउनुभयो ।

‘विमानस्थलको सुरक्षा संवेदनशील हुन्छ’ मन्त्री भट्टराईले भन्नुभयो ‘विमानस्थलमा राम्रो मात्रै नियत बोकेर मानिसहरू आएका हुँदैनन्, अन्तर्राष्ट्रिय आपराधिक गिरोहसँग सङ्गठित भएकाहरू पनि आवतजावत गर्ने सम्भावना रहन्छ, लागू औषध ओसारपसारका कुरा उठिरहेका छ । त्यसैले विमानस्थलको सुरक्षाको विषय चुनौती पनि हो, यस कारण छुट्टै सुरक्षा युनिट चाहिन्छ भनेर अहिले छलफल चलिरहेको छ ।’

मन्त्री भट्टराईले सुविधा सम्पन्न प्रहरी सुरक्षा भवन बनेकोमा खुसी व्यक्त गर्दै यसले प्रहरीमा थप जिम्मेवारी, सक्रियता तथा लगनशीलता वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेले लकडाउनको समयमा पनि टिआइएमा दुई वटा वाइडवडी जहाज अटने पार्किङ, ट्याक्सी पार्किङ, रनवे विस्तारलगायतका काम गरेको जानकारी गराउँदै टिआइएको गुरु योजना पुनरावलोकन भइरहेको बताउनुभयो ।
अहिले नेपाल प्रहरीले नै विमानस्थलको सुरक्षाको काम हेरिरहेको छ भने नेपाली सेनाले बाहिरी घेराको सुरक्षाको काम गर्दै आएको छ ।
तीन सय ५० जनाको क्षमता भएको तीन तले भवन ७ करोड १५ लाख १७ हजार ६०५ रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको हो ।









प्रतिक्रिया राख्नुहोस्