तपाईँ सुन्दै हुनुहुन्छः

लक्ष्मी पूजा गर्न बालेको दियोले घर जल्दा किशोरीको मृत्यु

बीरगन्ज । लक्ष्मी पूजा गर्न बालेको दियोले घर जल्दा पर्सा रामनगरीकी एक किशोरीको मृत्यु भएको छ ।

दिपावली गर्न बालिएको दियाबाट घरमा आगो सल्कदा पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ८ स्थति रामनगरी निवासी मनबोध साहकी छोरी १५ वर्षीय किशोरी मना कुमारी साहको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ ।

आगलागीबाट घरमा रहेको लत्ताकपडा, गरगहाना, फर्निचर, नगदसहित ५ लाख भन्दाबढीको क्षति भएको पिडित मनबोध साहले जानकारी दिनुभयो ।

राति १० बजे भएको आगलागीमा १५ वर्षिय किशोरी घरमा सुतिरहेको र अन्य घर सदस्यहरु भने आगलागी हुँदा घर नजिकैको खपडाको अर्को कच्चीघरमा सुतेको हुँदा उनीहरु बच्न सफल भएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक दिपक थापाले वताउनुभयो ।

मृतकको शव आज पोस्टमार्टम पछि आफन्तको जिम्मा लगाइएको छ ।

त्यसैगरी गएराति नै विद्युत सर्ट भई वीरगञ्ज महानगरपालिका २ इनर्वा चोक स्थित रहेको जय भोलेनाथ कार्टुन उद्योगमा आगलागी हुँदा लाखौको क्षति भएको छ ।

आगो वीरगञ्ज महानगरपालिकाका दुई वटा र कलैया उपमहानगरपालिकाका १ गरी ३ वटा दमकलको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाले नियन्त्रणमा लिएका थिए ।

त्यसैगरी गएराति नै वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ वाइपास सडकखण्डमा रहेको जगदम्बा स्टील प्रालिको गोदाम नजिकै दिपावली तथा छठ पर्वको लागी आवश्यक पर्ने दियो लगायत माटाका भाँडा बनाउने क्रममा भट्टीबाट निस्किएको आगोले नजिकै रहेको कच्ची घर जलेर नष्ट भएको छ ।

आगलागीबाट ३ लाख भन्दा बढीको क्षति भएको पीडितले कताएका छन् । त्यसेगरी, गएराति दिपावली गर्ने क्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ विर्तास्थित जेल रोड किराना पसलमा विद्युत सर्ट भई आगलागी हुँदा लाखौको क्षति भएको छ ।

स्थानीय बासिन्दा, वडा प्रहरी कार्यलय विर्ता र वीरगञ्ज महानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको थियो ।

त्यसैगरी, दिपावलीकै क्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर २८ अलौँमा समेत आगलागी भएको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button