पहिलो मैत्रीपुर्ण खेलमा नेपाल बंगलादेशसँग पराजित
काठमाडौं । बंगलादेशसँगको पहिलो मैत्रीपुर्ण खेलमा नेपाल दुई शुन्य गोलले पराजित भएको छ । कोरोनाको महामारीका कारण आठ महिनापछि मैदानमा उत्रिएको नेपालले निकै फितलो खेल खेल्यो ।
नेपालले बंगलादेशसँग सात वर्षपछि पहिलो हार ब्यहोरेको हो । सन् २०१३ को मार्चमा भएको एशियन कप खेलमा पराजित भएपछि नेपालले बंगलादेशसँग हारेको थिएन ।
ढाका स्थित बंगबन्धु रंशगालामा भएको खेलको सुरुवातमा नै नेपालले गोल खान पुग्यो । १० औं मिनेटमा बंगलादेशले एक गोलको अग्रता बनायो । उसका लागि सामुद्दिनले गोल गर्न सफल भए ।
सुरुवातमा नै एक गोलले पछि परेको नेपालले १७ औं मिनेटमा मौका पाएको थियो । तर नवयुग श्रेष्ठको प्रहार फ्रेममा रहन सकेन । २६ औं मिनेटमा अञ्जन विष्टको प्रहार पनि फ्रेममा रहेन ।
२७ औं मिनेटमा बंगलादेशका मानिक मुल्लाले डिबक्स बाहिरबाट गरेको शसक्त प्रहारलाई किरण चेम्जोङले बचाए । ३९ औं मिनेटमा अञ्जन विष्टले डिबक्समा पाएको मौकालाई आत्मसाथ गर्न सकेनन् । उनको फितलो प्रहारलाई बंगलादेशी गोलकिपरले बचाए ।
५६ औं मिनेटमा नेपालका रवी पासपानले डिबक्समा पाएको राम्रो मौकालाई सदुपयोग गर्न सकेनन् । जसका कारण नेपालले राम्रो अवसरलाई खेर फाल्यो । ७२ औं मिनेटमा सब्सिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका भरत खवासले डिबक्समा गरेको हेडको प्रयास पनि फ्रेम बाहिर रह्यो । खेलमा फर्कनका लागि नेपालले बारम्बार प्रयास गर्दा पनि पाएका मौकाको सदुपयोग गर्न सकेन ।
७७ औं मिनेटमा बंगलादेशका कप्तान टोबुको उत्कृष्ट फ्रिकिकलाई नेपाली गोलकिपर तथा कप्तान किरण चेम्जोङले बचाए । डिबक्स नजिकैबाट गरेका प्रहारलाई किरणले उत्कृष्ट तरिकाले बचाए । ७८ औं मिनेटमा विकाश खवासको थ्रो बलमा अनन्त तामाङको हेडरलाई बंगलादेशी गोलकिपरले बचाए ।
तर, खेलको ८० औं मिनेटमा नेपालले डिफेन्सको कमजोरीका कारण दोस्रो गोल खायो । काउन्टर अट्याकमा बंगलादेशका महाबुबुर रहमानले उत्कृष्ट गोल गर्न सफल भए । त्यसपछि नेपाल खेलमा फर्कन सकेन र दुई शुन्यले पराजित भयो ।
बंगलादेशविरुद्ध नेपालले पछिल्ला तीन खेलमा पहिलो हार ब्यहोरेको हो । शुक्रबारको खेलमा नेपाली खेलाडीमा फिटनेसको पनि समस्या देखियो । मिडफिल्डर विक्रम लामा चोटका कारण बाहिरीएपछि नेपाललाई दबाब बढेको थियो ।








प्रतिक्रिया राख्नुहोस्