पहुँच छैन अपाङ्गता भएका विद्यार्थीलाई अनलाइन कक्षामा

काठमाडौं। वैकल्पिक सिकाइका लागि सरकारले सुरु गरेको अनलाइन कक्षाको पढाइमा विभिन्न प्रकारका अपाङ्गता भएका विद्यार्थीहरूको पहुँच पुग्न नसकेको गुनासो बढेको छ ।
रेडियो टेलिभिजन र अनलाइनबाट सञ्चालन हुँदै आएका कक्षाहरूमा दृष्टिविहीन बहिरा, बौद्धिक अपाङ्गताका साथै विभिन्न शारीरिक अपाङ्गता भएका विद्यार्थीहरू अझै जोडिन सकेका छैनन् ।
सामान्य अवस्थाका बालबालिकाको समेत वैकल्पिक कक्षाहरूमा पहुँच पुग्न नसकिरहेको अवस्थामा विभिन्न प्रकारका अपाङ्गता भएका विद्यार्थीहरू अनलाइन कक्षाबाट वञ्चित भएका छन् ।
कोरोना भाइरसको महामारीका कारण बन्द रहेका विद्यालयहरूले अनलाइनबाट पठनपाठनलाई अगाडि बढाइरहेको भए पनि दृष्टिविहीन, बहिरा, बौद्धिक अपाङ्गतालगायत अन्य शारीरिक अपाङ्गता भएका अधिकांश विद्यार्थीहरू वैकल्पिक कक्षाहरूमा जोडिन सकेका छैनन् ।
राष्ट्रिय अपाङ्ग महासङ्घले सिन्धुपाल्चोक र काभ्रेमा कोभिड–१९पछि अपाङ्गता भएका व्यक्तिहरूमा शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा समावेशीकरण कस्तो छ भनेर अध्ययन गरिरहेको छ ।
अध्ययनमा संलग्न महासङ्घका बागमती प्रदेशका अध्यक्ष अस्वीन लम्साल अपाङ्गता भएका विद्यार्थीहरूको अनलाइन कक्षाहरूमा पहुँच अझै शून्य रहेको बताउनुहुन्छ ।
काभ्रेको सरस्वती माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत बौद्धिक अपाङ्गता भएकी छात्रा मनीषा तामाङलाई अनलाइन कक्षामा पढ्न समस्या भएको छ । बेलाबेलामा बेहोस हुने लड्ने र होसमा हुँदा पनि राम्रोसँग अरूले भनेको कुरा बुझ्न नसक्ने मनीषाले अनलाइनमा पढेको कुरा बुझ्न सक्नुभएको छैन ।
कमजोर शारीरिक अवस्थाका बाबजुद कहिलेकाहीँ अनलाइन कक्षामा जोडिने गर्नुभएको मनीषा पढाइमा निकै बाधा पुगेको बताउनुहुन्छ ।
विभिन्न प्रकारका अपाङ्गता भएका विद्यार्थीका लागि फरक फरक सिकाइ पद्धति आवश्यक पर्छ । टेलिभिजनबाट हुने कक्षामा साङ्केतिक भाषाको व्यवस्था गरिएको भए पनि रेडियो र अनलाइन कक्षाहरूमा भने अपाङ्गता भएका विद्यार्थीका लागि अलग्गै व्यवस्था हुन सकेको छैन ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतम आपंगता भएका विद्यार्थीलाई वैकल्पिक सिकाइमा समेट्न अप्ठेरो परेको बताउनुहुन्छ । निर्देशक गौतम वैकल्पिक कक्षा सञ्चालन गर्नुअघि अपाङ्गता भएकाहरूका लागि कसरी पठनपाठन गर्न सकिन्छ भनेर विज्ञहरूले समेत सुझाव दिन सकेनन् । ठुलो सङ्ख्यामा अपाङ्गता भएका विद्यार्थीहरू वैकल्पिक कक्षामा सहभागी हुन नसकेको गुनासो बढेपछि सरकारले अपाङ्गता भएका विद्यार्थीहरूका लागि विशेष व्यवस्था गर्न लागि परेको निर्देशक गौतमको भनाइ छ ।
कोरोना भाइरसको महामारीपछि नयाँ प्रयोगका रूपमा सञ्चालन हुँदै आएको अनलाइन कक्षामा अझै सबै विद्यार्थीको पहुँच पुग्न सकेको छैन ।
त्यसमा पनि मुलुकभर रहेका र फरक क्षमता भएका करिब दुई लाख विद्यार्थीहरूलाई वैकल्पिक कक्षामा पूर्ण रूपमा सहभागी गराउन विशेष व्यवस्था गर्न सके उनीहरूले पनि सिकाइलाई निरन्तरता दिन सक्नेछन् ।








प्रतिक्रिया राख्नुहोस्