तपाईँ सुन्दै हुनुहुन्छः

महको उत्पादन बढाउन तनहुँका कृषकलाई तालिम

तनहुँ । तनहुँमा मौरी पालक कृषकहरुलाई तालिम दिइएको छ । मौरीको मह उत्पादनमा बृद्धि गर्ने उद्देश्यले कृषि ज्ञान केन्द्र तनहुँले मौरी पालक कृषकहरुलाई तालिम प्रदान गरेको हो ।

उत्पादनसँगै महको व्यवसायीक बिस्तारको लागि अगुवा किसानलाई तालिम सञ्चालन प्रदान गरिएको केन्द्रले जनाएको छ ।

तालिममा केन्द्रका प्रमुख कुलप्रसाद तिवारी, मौरीपालक कृषक कृष्ण गुरुङ र राजेश्वर सिलवालले प्रशिक्षण दिनु भएको थियो ।

तीन दिने तालिममा २५ जना सहभागी रहेका थिए । तालिममा मौरी पालनको महत्व, जातको पहिचान, मौरीको सामाजिक जीवन, उमेर अनुसारको कार्य विभाजन, मौरीको जीवनचक्र, मौरीको गृह त्याग, मौरीको घार तथा पालन सम्बन्धि व्यवस्थापन बारे जानकारी दिइएको थियो ।

तालिममा आहारा व्यवस्थापन, मौरीको शत्रुहरुको पहिचान, परम्परागत घार र आधुनिक घारका फाईदा, मौरी पालनमा प्रयोग हुने उपकरणको पहिचान लगायतका बारेमा जानकारी दिन तालिम प्रदान गरिएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार कृषकको मागको आधारमा तालिम प्रदान गरिएको हो । तालिम आइतबारबाट मंगलबारसम्म सञ्चालन भएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button