तपाईँ सुन्दै हुनुहुन्छः

सोलुमा पहिलो पटक ‘सियूजी पाठशाला’ कार्यक्रम

सोलुखुम्बु । सोलुखुम्बु, कात्तिक २७ गते । कोरोना कहरका कारण मुलुकभरीका विद्यालयको पठनपाठन अस्तव्यस्त भएका बेला सोलुखुम्बुमा भने नयाँ कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।

शैक्षिक क्रियाकलापलाई सक्रिय राख्न सोलुदूधकुण्ड नगरपालिका–२ वेनीमा ‘सियूजी पाठशाला’ कार्यक्रम शुरु गरिएको छ ।

वडा कार्यालयको नेतृत्वमा शुरु भएको यो कार्यक्रममा अभिभावकलाई नेपाल टेलिकमले वितरण गर्ने सियूजी सिम उपलब्ध गराइएको छ ।

सो सिमको प्रयोग गरी विद्यार्थीको सिकाइलाई शिक्षकले अनुगमन तथा सिकाइमा जुनसुकै बेला निःशुल्क सहजीकरण गर्नेछन् भने विद्यार्थीले आफूलाई कठिन लागेका विषयमा जुनसुकै बेला शिक्षकसँग सिक्न पाउनेछन् ।

सिम मासिक रुपमा सक्रिय गर्नका लागि अभिभावकले न्यूनतम ९९ रुपियाँ रिर्चाज गर्नुपर्नेछ । रिचार्जपछि एकै सर्कलका सियूजी सिममा अनलिमिटेड कल गर्न पाउनेछन् । पाँच जिबी डाटा, एसएमएस सुविधा पनि प्राप्त गर्नेछन् । सियूजी खरिदका लागि वडाले प्रतिसिम १२९ रुपियाँ खर्चेको छ ।

वडामा कोरोना सङ्क्रमितको संख्या बढ्दै गए वा विद्यालयमा विद्यार्थी उपस्थितीका लागि अवस्था कठिन हुँदै गएमा सियूजी सिमबाट सिकाइ क्रियाकलापलाई अघि बढाइने जुनवेशी माध्यामिक विद्यालयका प्रध्यानाध्यापक भरतकुमार नाछिरिङले बताउनभयो ।

पहिलो चरणमा ७५ जना अभिभावकलाई सियूजी सिम वितरण गरिएको छ भने अन्य सबैलाई वितरण गर्दै जाने प्रध्यानाध्यापक नाछिरिङको भनाइ छ । कोरोना कहरका कारण विद्यार्थीहरु विद्यालय आउन सक्ने अवस्था नरहे सियूजी सिमको प्रयोग गरेर शिक्षकले घरमा रहेको विद्यार्थीको सिकाइमा सहजीकरण गर्नेछन्, उहाँले भन्नुभयो ।

यसअघि बेनीमा–४ जनामा कोरोना सङ्क्रमण देखिएपछि आएको अवधारणालाई वडाको सहयोगमा कार्यान्वयनमा ल्याएको उहाँले बताउनुभयो ।

अब जस्तो सुकै परिस्थितीमा पनि सिकाईलाई नरोक्ने तयारी स्वरुप सियूजी सिमको अवधारणा कार्यान्वयनमा ल्याएको वडाअध्यक्ष मिङ्मारदोर्जी शेर्पाले बताउनुभयो ।

महामारीको समयमा सिकाइ क्रियाकलापलाई निरन्तरता दिने उत्तम विधि ठानेर कोरोना सङ्क्रमणको अवस्था हेरी वडाका सम्पुर्ण विद्यालयमा ‘सियूजी पाठशाला’लाई लागु गर्ने मनस्थितीमा पुगेको वडाअध्यक्ष शेर्पाको भनाइ छ । यो अवधारणा कार्यान्वयनमा ल्याउने जिल्लाकै पहिलो वडा भएको उहाँको दाबी छ ।

त्यस क्षेत्रमा मङ्सिर ३ गतेबाट विद्यालयमा सञ्चालनमा आउने बताइएको छ । सङ्क्रमण फैलिए ‘सियूजी पाठशाला’ कार्यक्रमलाई एक्टिभ गराइ हाल्ने तयारीमा वडा कार्यालय देखिएको छ । अधिकांश विद्यालयले नेपाल सरकार जारी गरेको एकिकृत सिकाइ सहजीकरण पुस्तिकालाई आधार मानेर शिक्षण गराउँदै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button