तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना प्रभाव : झापाको मेची नदीमा यस वर्ष छठ पूजाको समारोह नहुने

भद्रपुर, झापा । झापाको भद्रपुर नगरपालिकाले यस वर्ष सार्वजनिक रुपमा छठ पूजा नगर्न आग्रह गरेको छ ।

नगरपालिकाले कोभिड–१९ को सङ्क्रमण बढ्दै गएकोले स्थानीय मेची नदीमा गरिँदै आएको छठ पूजा समारोह नगर्न आग्रह गरेको हो ।

बुधबार बसेको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको नगरप्रमुख जीवनकुमार श्रेष्ठले बताउनुभयो । उहाँले सरकारले जारी गरेको स्वास्थ्य सम्बन्धी मापदण्ड अनुसार नै दिपावली, छठजस्ता पर्व मनाउन नगरवासीमा अनुरोध गरिएको जानकारी दिनुभयो ।

पर्वहरुमा सार्वजनिक स्थानमा भेला भई देउसी–भैलो, जुवातास, डाइस नखेल्न, आतिसबाजी नगर्न, छठका लागि नदी–तलाउमा गई पूजा नगर्न, बत्ती, पण्डाल घाट नसजाउन बैठकले निर्णय गरेको छ ।

छठ पर्व आ–आफ्नो घर–आँगनमा कृत्रिम जलकुण्ड निर्माण गरी सावधानीपूर्वक एकाघर परिवारमा मात्र मनाउन आग्रह गरिएको वडा नं ५ का वडाध्यक्ष बन्धु कार्कीले बताउनुभयो । बैठकले सार्वजनिक सरोकारका २५ बुँदामा निर्णय गरेको छ ।

यसैगरी, वर्षौँदेखि मेची नदी किनारमा छठ पूजाको आयोजना तथा व्यवस्थापन गर्दै आएको मैथिल समाज झापा भद्रपुरले पनि यस वर्ष छठ व्यवस्थापन नगर्ने जनाएको छ ।

मैथिल समाज झापाका अध्यक्ष रमेशचन्द्र झाले नगरपालिकासँगको समन्वयबाट यस वर्ष छठ पूजाको आयोजना तथा व्यवस्थापन नगरिने निर्णय गरिएको बताउनुभयो ।

भारतसँग सीमा जोडिएको भद्रपुर–५ स्थित मेची नदीमा विराटनगरपछि सबैभन्दा बृहत रुपमा छठ पूजा मनाइँदै आएको छ ।

मेची नदीमा आयोजना हुने छठ पूजा समारोहमा नेपालका अन्य जिल्ला र सीमावर्ती भारतसमेतबाट लाखौं भक्तजनको सहभागिता रहने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button