बैतडीकै दुर्गम सिगासमा ११ वटा सुविधा सम्पन्न भवन

बैतडी । बैतडीको सिगास गाउँपालिकालाई जिल्लाकै सबैभन्दा दुर्गम गाउँपालिको रूपमा चिनिन्छ । जिल्ला सदरमुकामबाट यहाँ पुग्न राजधानी काठमाडौँ पुगे जत्तिकै समय लाग्ने गर्दछ ।
सदरमुकामबाट सिगासको केन्द्र गर्जेसम्म पुग्न ६ घण्टा गाडिको यात्रा गरेपछि अझै ७ घण्टा हिँड्नुपर्ने बाध्यता छ । तर अहिले २ घण्टा टाढाको दुरीसम्म कच्ची सडक पु¥याइएको छ । गाउँपालिकाको नजिकै मोटर बाटो पुगेपनि अझै केही वडाहरूमा पुग्नका लागि दुई दिनसम्म हिँड्नुपर्ने बाध्यता भने अझै छ ।
सिगास दुर्गम भएपनि पछिल्लो समय विकासमा फड्को मारिरहेको छ । यहाँ गाउँपालिकाको नेतृत्व बलियो देखिएको छ र विकास बजेट पनि राम्रोसँग खर्च भएको देख्न सकिन्छ । गाउँपालिकाको केन्द्र पालिकाकै मध्यभाग गर्जेमा छ । यसअघि त्यहाँ कुनैपनि सरकारी संरचना थिएनन् । एउटा पसलका दुई कोठा भाडामा लिएर पालिकाका कामकाज सञ्चालन गरेको सिगासले अहिले आफ्नै सुविधा सम्पन्न भवन पाएको छ ।
सिगास गाउँपालिकाको भवनमात्र हैन पछिल्लो समय यहाँका ६ वटा वडा समेत आफ्नै भवनबाट सेवा दिनसक्ने अवस्थामा पुगेका छन् । त्यसोत यहाँ रहेको एक वटा प्रहरी चौकीसहित ११ वटा नयाँ बनेका भवनले सिगासको विकासको प्रतिनिधित्व गरिरहेका छन् ।
बैतडी जिल्लाका ८४ वडामध्ये १२ वडामा मात्रै आफ्नै नयाँ भवन छन् । तीमध्ये सिगासका मात्रै ६ वडा नयाँ भवन बन्नुले सिगासले अवसरको सही सदुपयोग गरिरहेको छ बुझन्न्लाई कठिन छैन ।

सिगासमा अहिले निर्माण सम्पन्न भएका सबै भवनहरू सुविधा सम्पन्न छन् । गाउँपालिका भवन डेढ करोडको लागतमा निर्माण सम्पन्न भएको हो भने वडा भवनहरू १०–१० लाख रकममा निर्माण गरिएका हुन् ।
यसैगरी पुरुष कर्मचारी आवास ९० लाखमा निर्माण भएको छ भने महिला कर्मचारी आवास ३५ लाख, अध्यक्ष निवास ३२ लाख, प्रहरी चौकी ३३ लाखमा निर्माण गरिएको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीले गाउँपालिकाको प्रशासकीय भवन, प्रहरी चौकी, कर्मचारी आवास, अध्यक्ष निवास लगायत भवनहरू निर्माण गरेका छौँ, सबैभन्दा पहिला हामी आफूले कामगर्ने ठाउँ आवश्यक हुने भएकाले यी भवनहरू बनाएका हौँ ।’ आफ्नै भवनबाट कामगर्दा निकै सजिलो भएको सिगास गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टिकासिंह धामीले बताउनुभयो । विगतमा भाडाका जीर्ण घरमा कार्यालय सञ्चालन गर्न निकै कठिन रहेकोमा अहिले आफ्नै भवन निर्माण हुँदा काम गर्न निकै सजिलो भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘पहिला सबै शाखाका कामहरू एकै कोठाबाट सञ्चालन गर्नुपर्ने अवस्था थियो, अहिले विषयगत शाखाका अलग्गै कार्यालय स्थापना गरेका छौँ ।’सिगासमा अहिले वडा नं १, ३, ४, ५, ७ र ९ मा आफ्नै सुविधा सम्पन्न भवनहरू बनिसकेका छन् ।








प्रतिक्रिया राख्नुहोस्