पर्सामा सशस्त्र प्रहरीको तीनवटा विओपी स्थापना
वीरगञ्ज । पर्साको ग्रामीण भेगमा सिमा सुरक्षाका लागि आज एक साथ तीन स्थानमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट स्थापना गरिएको छ ।
ठोरी गाउँपालिका वडा नं ३ ब्रह्मानगर, जिराभवानी गाउँपालिकाको वडा १ जिराभवानी मन्दिर परिसर र छिपहरमाई गाउपालिका वडा नं १ मिर्जापुरमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट स्थापना गरी आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ ।
सशस्त्र प्रहरी प्रदेश नं २ का प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्णभक्त ब्रह्मचार्यले तीनवटा बिओपीको छुटाछुटै कार्यक्रमबीच उद्घाटन गर्नु भएको हो ।
विओपी उद्घाटन कार्यक्रममा सिमा क्षेत्रका बासिन्दा तथा स्थानीय जनप्रतिनिधिहरुले भारतसंग रोटी बेटीको सम्बन्ध भएकाले आवागमनमा कुनै किसिमको अवरोध नगर्न शसस्त्र प्रहरीका अधिकारीलाई आग्रह गरेका थिए ।
चाडवार्ड तथा विवाह, मृत्यु जस्ता संस्कारमा भारतीय बजारबाट सामान ल्याउँदा सशस्त्र प्रहरीले अवरोध गर्ने गरेको हुँदा सिमा क्षेत्रका बासिन्दालाई अप्ठ्यारोमा नपार्न उपस्थित जनप्रतिनिधिहरुले आग्रह समेत गरेका थिए ।
सिमा क्षेत्रमा सशस्त्र प्रहरीको विओपी स्थापनापछि स्थानिय बासिन्दाले सुरक्षाको अनुभूति गरेको ठोरी गाउँपालिकाका अध्यक्ष पिएल श्रेष्ठले बताउनु भयो । कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्ग, सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्का लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्