व्यवसायिक मौरीपालनका लागि किसानलाई आधुनिक घार वितरण
जुम्ला । परम्परागत मौरी पालनले कष्ट बढी आम्दानी कम हुने भएपछि मौरी पालक किसानहरु विकल्प खोजिरहेका छन् । जुम्लामा एकातर्फ मौरी चरण क्षेत्रको अभाव त छदैछ ।
त्यसैमाथि परम्परात मौरी पालनले दुख बढी भएकाले किसान आजित भएको मौरी पालक किसान रामकृष्ण बुढ्थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “मौरी पालनका लागि आधुनिक औजार, आबश्यक ज्ञान खोजिरहेका बेला दुईदिनको तालिम संगै आधुनिक सामाग्री पाएपछि किसान खुसी भएका छन् ।”
२०५२ साल देखि मौरी पालन गर्दै आएका बरिष्ठ किसान रामकृष्ण बुढ्थापाले विश्वकै उत्कृष्ट मह जुम्लामा उत्पादन हुने जिकिर गर्नुभयो । तर जुम्लामा परम्परागत शैलीको मौरी पालनले आर्थिक आम्दानी नहुने उहाँको भनाई छ ।
राज्यले लगानी गर्ने गरी मौरी पालकहरुको साझा संगठन निर्माण गर्नुपर्ने उल्लेख गर्नुभयो । जीविकोपार्जन संगै देशको अर्थतन्त्रलाई पनि टेवा पुर्याउने गरी मौरीपालन व्यवसायिक रुपमा अघि बढाउन जुम्लामा सम्भव रहेको समेत तर्क दिनुभयो । तालिमसंगै सामाग्री पाएपछि मौरीपालनमै भविष्य देखेका किसान खुसी भएका छन् ।
अनुकुलन कोषको आर्थिक सहयोग, नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको साझेदारीमा पेस नेपाल जुम्लाले मौरीपालक किसानलाई दुईदिनको तालिम र आधुनिक घार संगै अन्य सामाग्री दिएको हो ।
जसमा २४ थान आधुनिक घार, मह संकलनका लागि टोपी, सुट, जुत्ता, मह छान्ने जाली, मह राख्ने ड्रम सहितका विभिन्न सामाग्रीहरु वितरण गरिएको पेश नेपाल जुम्लाका कार्यकारी निर्देशक किशोर न्यौपानेले बताउनुभयो ।
तालिममा सिप र सामाग्रीहरु पाएकोमा सहभागिहरुले बिगतमा तालिम बिना मौरी पालन गरेपनि अब व्यबसायिक रुपमै यो ब्यबसाय सञ्चालन गर्ने प्रतिबद्धता किसानहरुले गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्