बाँकेमा कोरोना निको हुने दर ९०.५९ प्रतिशत
बाँके । बाँकेमा कोरोना भाइरसका सङ्क्रमित निको हुने दरमा उल्लेख्य सुधार आएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
पछिल्लो समय प्रति सय ९०.५९ प्रतिशतका दरले कोरोना सङ्क्रमितहरु निको हुने गरेको केन्द्रद्धारा जारी विवरणमा उल्लेख गरीएको छ ।
यस्तै गरी बाँकेमा कोरोनाको रोग प्रकोप दर ०.५५ तथा बिरामीको मृत्युदर १.०५ रहेको पाइएको छ । हरेक दिन दर्जनौं सङ्क्रमित कोरोनामुक्त हुन थालेसँगै बाँकेमा कोरोना निको हुने दर बढेको हो ।
यसैबीच शनिबार मात्र विभिन्न आइसोलेसन (संस्थागत तथा होम आइसोलेसन) केन्द्रबाट थप ३५ जना कोरोना सङ्क्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
कोरोना सङ्क्रमण पुष्टि भएपछि कात्तिक १२ गते जिल्लाका विभिन्न आइसोलेसनमा बसेका १६ महिला र १९ पुरुष गरि ३५ जना डिस्चार्ज भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
योसँगै बाँकेमा सङ्क्रमण जितेर डिस्चार्ज हुनेहरुको संख्या ३ हजार २२ पुगेको छ ।
जिल्लाका विभिन्न आइसोलेसनमा अब बाँकेका २७९ र जिल्ला बाहिरका २३ गरी ३०२ जना सङ्क्रमितको उपचार भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्