अलपत्र कवर्ड हलले गति लियो

बलेवा- बन्दाबन्दीमा धेरै निर्माणाधीन भौतिक संरचना अलपत्र भएका छन् । बागलुङ नगरपालिका—१ बाङ्गेचौरमा निर्माणाधीन कवर्डहल निर्माणले भने गति लिएको छ ।
निर्माणमा अगुवाइ गर्ने केही युवाको सक्रियताले वर्षौदेखि अलपत्र तेक्वान्दोको कवर्डहल निर्माणको अन्तिम चरणमा पुगेको छ । सत्र वर्षदेखि अलपत्र यो भवनले बन्दाबन्दीमै गति पाएको तेक्वान्दो सङ्घका सचिव परशुराम बोहोराले बताउनुभयो । तेक्वान्दो सङ्घको अगुवाइमा निर्माण भएपनि यो ‘इनडोर खेल’का लागि उपयोगी छ । सङ्घले पनि मार्सलआर्टका सबै खेल यो कबर्डहलमा खेलाउन सकिने बताएको छ ।
बन्दाबन्दीमा सङ्घका पदाधिकारी नियमित खटिएर भवन बनेको हो । प्यारापिट निर्माण भैरहेको छ । ड्रेसिङ रुम र शौचालय तथा रङ्गरोगनका लागि थप रु २० लाख खर्च लाग्ने अनुमानअनुसार मन्त्रालय र राखेपमा जानकारी गराइसकिएको बोहोराले बताउनुभयो । “हामीले विदेशमा बसेका खेलप्रेमीको रकम संकलन गरेर अलपत्रबाट आशालाग्दो बनायौं”, बोहोराले भन्नुभयोे, “अझै यसको फिनिसिङका लागि धेरै खर्चनुपर्नेछ ।”
राष्ट्रिय खेलकुद परिषद (राखेप)ले पनि आगामी नवौं राष्ट्रिय खेलमा बागलुङमा छनोट तथा राष्ट्रिय खेल सञ्चालन गर्ने लक्ष राखेको छ । राखेपले पनि बागलुङमा खेल खेलाउने आश्वासन दिएपछि सङ्घले छिटो हल निर्माण गरिसक्न चासो देखाएको सङ्घका अध्यक्ष दिपेन्द्र बाँस्कोटा बताउनुहुन्छ । यो कवर्डहल निर्माण भएमा कम्तिमा तेक्वान्दोसहित करा“ते, उसुजस्ता मार्सल आर्टको सबै खेल प्रतियोगिता गर्न सकिन्छ ।
रु ७६ लाख खर्च लाग्ने अनुमान गरिएको यस योजनालाई हरेक वर्ष दुई÷चार लाख बजेटले ठोस काम नभएपछि विदेशमा बस्ने नेपालीले पठाएको रकमबाट काम गर्न सकिएको उहाँले बताउनुुभयो । कवर्डहल निर्माण थाल्नुअघि रामरेखा सामुदायिक वनले तत्कालीन जिल्ला खेलकुद विकास समितिलाई भोगाधिकार दिएको जग्गामा यो हल निर्माणाधीन छ । राष्ट्रिय प्रतियोगिताका केही खेल यहाँ सञ्चालन भएमा खेल पर्यटनको क्षेत्रमा पनि जिल्लाले फड्को मार्न सक्ने समितिका पूर्व अध्यक्ष धनबहादुर परियारले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्