तपाईँ सुन्दै हुनुहुन्छः

जनप्रतिनिधि र कर्मचारीहरु कन्ट्रयाक्ट ट्रेसिङमा परेपछि नगरपालिकाबाट प्रदान हुने सबै सेवा बन्द

रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिका कार्यालयका जनप्रतिनिधि र कर्मचारीहरु कोरोना संक्रमणको कन्ट्रयाक्ट ट्रेसिङमा परेपछि नगरपालिका कार्यालयबाट प्रदान हुने सबै सेवा बन्द गरिएको छ ।

बिहीवार एक सूचना जारी गर्दै नगरपालिकाले शुक्रबारदेखि लागू हुने गरी अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको जनाएको हो ।

नगरपालिका कार्यालयका जनप्रतिनिधि र कर्मचारीहरु कोरोना संक्रमणको कन्ट्रयाक्ट ट्रेसिङमा परेपछि सेवा प्रवाह र कार्यालय बन्द गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले बताउनुभयो । अर्यालका अनुसार कार्तिक २१ गते शुक्रवारदेखि २४ गतेसम्म सेवा बन्द गरिएको हो ।

संक्रमणको दर अझै बढ्ने सम्भावना भएकोले संक्रमणको न्यूनीकरण गर्न नगरपालिका कार्यालय बन्द गरिएको नगरपालिकाले जनाएको छ । यो अवधिमा अत्यावश्यक स्वास्थ्य र सरसफाई बाहेकका सम्पूर्ण कामहरु बन्द रहने छन् ।

सैनामैनामा अहिलेसम्म ३ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २ सय ७९ जना निको भएका छन् भने ४ जनाको मृत्यु भइसकेको छ ।

हाल सैनामैना कोरोना अस्पताल बनकट्टाको आइसोलेसनमा १२ जना, होम आइसोलेसनमा ४५ जना र अन्य २ जना विभिन्न अस्पतालमा उपचाररत रहेको नगरपालिका स्वास्थ्य शाखाका प्रमुख हेमराज पन्थीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button