पीसीआर मेसिन खरिद गर्ने तयारीमा तुलसीपुर उपमहानगरपालिका

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले कोरोना परीक्षण गर्ने पीसीआर मेसिन खरिद गर्ने भएको छ । कोरोना संक्रमणको दर वढ्दै गइरहेका बेला उपमहागनरपालिकाले यस्तो तयारी गरेको हो । कोरोना परीक्षणका लागि घोराहीसम्म जानुपर्ने हुँदा झनै संक्रमण हुनसक्ने भन्दै कार्यपालिकाको ९५ औ बैठकले मेसिन खरिद गर्ने निर्णय गरेको नगरप्रमुख घनश्याम पाण्डेले बताउनुभयो ।
मेसिन सहयोगको प्रतिवद्धता आइसकेकाले यसको व्यवस्थापन र सञ्चालनका सैगै आइसियु स्थापना गर्ने समेत निर्णय भएको नगरप्रमुख पाण्डेले बताउनुभयो । लक्षण देखिएका विरामीको संख्या वढेसँगै आइसियुको अभाव हुनसक्ने भएकाले यसको पनि स्थापना गर्न लागिएको उपमहानगरपालिकाले जनाएको छ ।
तुलसीपुरको प्रादेशिक अस्पतालका साथै उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो अस्पतालमा गरेर ६ बेडसम्मको आइसियु स्थापना गर्न लागिएको छ । वैठकले आइसियु स्थापनाका लागि उपमहानगरपालिकाले स्थापना गरेको मेयर विपद् व्यवस्थापन कोषलाई परिचालन गर्ने निर्णय गरेको छ । ‘ विपद्को बेलामा नागरिकको जिउज्यान जोगाउने नै मुख्य दायित्व हो,’ नगर प्रमुख पाण्डेले भने–‘ त्यसैले हामीले आफुलाई कोरोना प्रतिरक्षाका लागि विभिन्न कामहरुमा केन्द्रीत गरेका छौ ।’
यसैबिच कोरोना संक्रमणमा परेर उपचार गराउन नसक्ने नागरिकको उपचार समेत उपमहानगरपालिकाले गर्ने छ । ‘लक्षण देखिएका विपन्न वर्गका विरामीको कोरोना चेकजाँच समेत उपमहानगरपालिकाले गर्ने बैठकमा निर्णय भएको छ’ नगर प्रवक्ता सुर्यवहादुर डाँगीले भन्नुभयो–‘ विरामीको आर्थिक अवस्था हेरेर उपचार समेत उपमहानगरपालिकाले गर्ने निर्णय भएको छ ।’
यसैगरी कोभिडको लक्षण देखिएका तर होम क्वारेन्टाइनमा वसेका संक्रमितहरुलाई वडाध्यक्षको संयोजकत्वमा अनुगमन समिति वनाइएको छ । समितिले संक्रमितहरुको स्वास्थ्य अवस्था बुझ्ने छन् भने कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनका लागि सम्वन्धित वडालाई जिम्मेवारी दिने निर्णय समेत गरिएको छ ।







प्रतिक्रिया राख्नुहोस्