बाझो जग्गा जोत्नेलाई अनुदान

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले लकडाउनको समयमा बाझो जमिन उपयोग गर्ने किसानहरूलाई अनुदान वितरण गरेको छ । विभिन्न वडाहरूमा बाझो जमिनको उपयोग गर्ने १ सय १४ जना किसानलाई अनुदान वितरण गरिएको हो ।
किसानहरूलाई अनुदान वितरण गर्दै गाउँपालिका अध्यक्ष राम बहादुर कार्कीले यस प्रकारको अभियानले उद्यमशीलता प्रवर्धन हुने भएकोले गाउँपालिकाले महत्त्व दिएर यो कार्यक्रम बनाएको बताउनुभयो । उपाध्यक्ष चेत कुमारी थापाले गाउँपालिकाले लकडाउनको समयमा मानिसहरू कृषिमा उत्प्रेरित भइरहेको बेला अनुदानको कार्यक्रम ल्याएको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत खेत बहादुर खत्रीले गाउँपालिकाले बाझो जमिन उपयोग गर्ने किसानहरूको लागि फलफूल लगाउनेलाई प्रति रोपनी २ हजार र खेती गर्नेलाई प्रति रोपनी ३ हजारका दरले अनुदान रकम वितरण गरिएको जानकारी दिनुभयो ।
अनुदान रकम लिनका लागि पालिकाले तोके अनुसार कम्तीमा ३ रोपनीमा खेती तथा फलफूल लगाएको हुनु पर्ने व्यवस्था गरेको उहाँले बताउनुभयो । यसरी बाझो रहेको जमिन उपयोग गरे बापत पालिकाले अनुदान रकम वितरण गरे पछि किसानहरू उत्साही भएका छन् ।








प्रतिक्रिया राख्नुहोस्