मेलम्चीमा प्रत्येक शनिबार स्वेच्छिक कोरोना परीक्षण हुने
सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाले नगरभित्रका कोरोनाको लक्ष्यण देखिएका स्वेच्छिक व्यक्तिको प्रत्येक शनिबार कोरोना परीक्षण गर्ने भएको छ ।
पालिकाको कोरोना विपद् व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो । कोरोना संक्रमणका लक्षण देखिएका व्यक्तिहरुले सःशुल्क पिसीआर परीक्षण गर्न चाहेमा प्रत्येक शनिवार स्वाब संकलन गर्ने निर्णय गरेको नगर प्रमुख डम्बर अर्यालले जानकारी दिनुभयो । स्वाब परीक्षण गर्न सम्बन्धीत अस्पतालसंग समन्वय गर्न मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रलाई जिम्मेवारी समेत दिइएको उहाँले बताउनुभयो ।
बैठकले कोरोना विरामीको व्यवस्थापनको लागि मेलम्ची नगरपालिकाको कोरोना अस्पतालको रुपमा व्यवस्थापन गरिएको धुलिखेल सामुदायिक अस्पताल बाहुनेपाटी आउटरिच क्लिनिकको पश्चिमपट्टिको भवनमा आवश्यक पुर्वाधार, उपकरण तथा औषधीजन्य सुविधाहरुसहित व्यबस्थापन गर्ने निर्णय समेत गरेको छ । कोरोनाका सिकिस्त विरामीहरुलाई प्रेषण गर्नको लागि सुविधा सम्पन्न कोभिड डेडिकेटेड अस्पतालहरुसंग समन्वय कायमराख्ने निर्णय गरेको छ ।
कोरोना संक्रमित व्यक्तिहरुको निधन भएमा शव व्यबस्थापनको लागि संम्भावित स्थानहरु पहिचान गर्न कार्तिक २१ गतेबाट स्थलगत निरीक्षण सुरु गर्ने नगर उपप्रमुख भगवती नेपाल बताउनुभयो । कोरोनाको लक्षणहरु देखिएमा वा कोरोना संक्रमण पुष्टि भएमा सम्वन्धीत वडा कार्यालयमा र स्थानीय स्वास्थ्य संस्थामा सकेसम्म छिटो सूचना गर्न अनुरोध समेत गरिएको छ ।
कोरोना संक्रमण सम्बन्धि मिल्ने चिन्हहरु जस्तै ज्वरो आउने, रुघाखोकी, स्वाद गन्ध थाहा नहुने जस्ता लक्षणहरु देखिएमा त्यस्ता व्यक्तिहरुलाई अनिवार्य १४ दिन होम आइसोलेसनमा बस्न आग्रह समेत गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्