पर्सा र बाराका थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि

वीरगञ्ज । बीरगन्जस्थित नारायणी अस्पतालमा गरिएकोे पिसिआर परिक्षणको क्रममा बारा र पर्साका थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
बारा र पर्साको विभिन्न स्थानबाट संकलन गरी ल्याइएको १०६ जनाको स्वाब परिक्षण गर्दा बाराका ९ र पर्साका २ जना गरी ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चौरसियाले जानकारी दिनुभयो ।
सङ्क्रमण पुष्टि हुनेमा पर्साको बीरगंज आर्मी व्यारेकका एक जना २५ वर्षीय सैनिक जवान रहेका छन् भने एक जना बीरगंज महानगरपालिका वडा नम्बर १२ का ३४ वर्षीय पुरुष रहेका छन् ।
यस्तै बारामा भेटिएका सङ्क्रमितहरु बढी जितपुर–सिमरा उपमहानगरपालिकाका रहेका छन् ।
जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ का पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ भने वडा नम्बर ३ का दुई जनामा सङ्क्रमण पुष्टि भएको डा. चौरसियाले बताउनुभयो ।
यस्तै कलैया उपमहानगरपालिका वडा नम्बर ५ का एक जना र बाराको अमलेखगंजका एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।
सङ्क्रमण पुष्टि भएकाहरुमा चार जना महिला रहेका छन् । सङ्क्रमण पुष्टि भएकाहरु २५ वर्ष देखि ६६ वर्ष उमेर समुहका रहेका छन् भने उनीहरुको सिटि भ्यालु २५ देखि ३४ सम्म रहेको डा.चौरसियाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्