तपाईँ सुन्दै हुनुहुन्छः

अष्ट्रेलियाका क्रिकेटर शेन वाटसनद्वारा सन्यासको घोषणा

काठमाडौं । अष्ट्रेलियाका क्रिकेटर शेन वाटसनले क्रिकेट खेल जीवनबाट सन्यास घोषणा गरेका छन् । अष्ट्रेलियाका पूर्व अलराउण्डर वाटसनले मंगलबार खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् ।

वाटसनले आफ्नो वेबसाइटमा एक भिडियो पोस्ट गर्दै सन्यास घोषणा गरेका हुन् ।

३९ वर्षीय वाटसनले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट चेन्नई सुपर किङ्सबाट खेलेका थिए ।

तर, चेन्नई लिग चरणबाटै बाहिरिएको थियो । चेन्नई बाहिरिएसँगै वाटसनले सन्यास घोषणा गरेका हुन् । उनले आईपीएलको १ सय ४५ खेलमा ३ हजार ८ सय ७४ रन बनाएका छन् । उनले ९२ विकेट समेत लिएका छन् ।

वाटसनले अन्तराष्ट्रिय क्रिकेटबाट भने सन् २०१६ सन्यास लिएका थिए । तर, उनले फ्रेन्चाइज क्रिकेट भने खेल्दै आइरहेका थिए ।

विश्वकप विजेता वाटसनले अष्ट्रेलियाका लागि ५९ टेस्ट खेलेका थिए । यस्तै १ सय ९० एकदिवसीय र ५८ टी–ट्वान्टी अन्तराष्ट्रिय खेलेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button