तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपाललाई सूचना केन्द्रका रूपमा विकास गर्नुपर्छः सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले रेडियो नेपाललाई सत्य तथ्य र आधिकारिक सूचनाको केन्द्र बन्ने गरी पुनसंरचना गर्नुपर्ने बताउनुभएको छ ।
मन्त्री गुरुङले आज गर्नुभएको रेडियो नेपालको अवलोकन भ्रमणका क्रममा रेडियो नेपालले सत्य, तथ्य र रचनात्मक प्रसारण सामग्री उत्पादन गरी सूचनाको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनुभयो ।
उहाँले रेडियो नेपालको समाचार तथा कार्यक्रमलाई सबै नेपालीको भावना समेट्ने गरी समावेशी बनाउन समेत निर्देशन दिनुभयो ।
मन्त्री गुरुङले रेडियो नेपालको विगतको पहिचान र गरिमा कायम रहने गरी यसको प्रसारण पहुँच विस्तार गर्नुपर्नेमा समेत जोड दिनुभयो ।
कार्यक्रममा रेडियो नेपाल सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले रेडियो नेपालको गरिमा र ऐतिहासिक महत्त्व कायम रहेन गरी पुनसंरचना गर्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपालको वर्तमान अवस्था तथा आगामी योजनाका बारेमा जानकारी गराउनुहुँदै रेडियो नेपालको प्रसारण पहुँच विस्तारका लागि सरकारले थप आर्थिक सहयोग उपलब्ध गराउनुपर्ने माग गर्नुभयो ।
     

प्रतिक्रिया राख्नुहोस्

Back to top button