लमजुङका ६ वटा स्थानिय तहमा छुट्टाछुट्टै १५ शैयाको अस्पताल बन्ने

लमजुङ– लमजुङका ६ वटा स्थानिय तहमा १५ शैयाका अस्पताल निर्माण हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १५ शैयाको अस्पताल निर्माण गरिने लमजुङ सहित देशभरका विभिन्न स्थानीय तह र स्तरोन्नती हुने एकसय २२ वटा अस्पताल टुंगो लगाएको हो ।
मन्त्रालयका अनुसार लमजुङको सुन्दरवजार, मध्यनेपाल, राईनास नगरपालिका, क्होलासोँथार, दोर्दी र दुधपोखरी गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्रहरुको स्तरोन्नती गरी १५ शैयाको अस्पताल निर्माण गर्न लागेको हो ।
स्थानीय तह र स्वास्थ्य संस्थाको टुंगो लगाएसँगै मन्त्रालयले त्यसका लागि तिन अर्ब ७२ करोड ५६ लाख रुपैयाँ बजेट पठाउने तयारी पनि अगाडि बढाएको छ । अर्थ मन्त्रालयले समेत बजेट पठाउनका लागि स्वीकृती दिइसकेको छ ।
प्राप्त जानकारी अनुसार जिल्लाको मध्यनेपाल नगरपालिका अन्तर्गतको चिसँकु स्वास्थ्य चौकी, सुन्दरवजार नगरपालिका अन्तर्गतको चन्द्रेश्वर प्राथमिक स्वास्थ्य चौकी, राईनास नगरपालिका अन्तर्गतको धमिलिकुवा स्वास्थ्य चौकीको स्तरोन्नती गरी १५ शैयाको अस्पताल निर्माण गर्न लागेको जनाएको छ ।
यस्तै दोर्दी गाउँपालिका अन्तर्गत नौथर शेरा प्राथमिक स्वास्थ्य केन्द्र, दुधपोखरी गाउँपालिका अन्तर्गत विचौर स्वास्थ्य चौकी र क्होलोसोँथार गाउँपालिका अन्तर्गत साल्मे भन्ज्याङ प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरी १५ शैयाको अस्पताल निर्माण गर्ने तयारी गरेको हो ।
यसअघि मन्त्रालयले १५ शैय्याका अस्पताल बनाउनका लागि विभिन्न स्थानीयत तहका अस्पतालहरुलाई सूचीकृत गरेको थियो । अस्पताल सूचीकृत गरेपछि त्यसको सम्भाव्यता अध्ययन गर्न भवन विभागलाई जिम्मेवारी दिइएको थियो ।
भवन विभागले सम्भाब्यता अध्ययन गरिसकेपछि १५ शैय्याको अस्पताल निर्माण गरिने स्थानीय तह र स्तरोन्नती हुने स्वास्थ्य संस्थाको नाम टुंग्याएको हो । मन्त्रालयले बढीमा दुई वर्षभित्रमा यी स्वास्थ्य संस्थाहरुलाई १५ शैयाको बनाइसक्ने लक्ष्य राखेको छ ।
१५ शैयाको अस्पताल बनाउनका लागि एककरोड ५० लाखदेखि तिन करोडसम्म बजेट छुट्याइएको छ । यद्यपी लमजुङका स्थानिय तहमा निर्माण हुन लागेका १५ शैया अस्पतालका लागि के कति बजेट विनियोजन भएको भन्ने बारेमा एकिन भएको छैन । मन्त्रालयले अस्पताल स्तरोन्नतीको निर्णय गरेपनि स्वास्थ्य कार्यालयमा भने त्यसबारेमा परिपत्र आईनसकेको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।
जिल्लामा सदरमुकम बेसीशहरमा ५० शैयाको जिल्ला सामूदायिक अस्पताल रहेको छ । सो बाहेक सुन्दरवजार पनि सरकारी स्वामित्वमा १५ शैयाको अस्पताल रहेको छ । सो बाहेक जिल्लामा अन्य स्थानिय तहहरुमा भने सरकारी स्वामित्वमा अस्पताल नहुँदा आम नगारिकहरुलाई समस्या हुँदै आएको थियो ।
यसअघि मस्र्याङदी गाउँपालिकाको भुलभुले स्वास्थ्य चौकीलाई पनि १० शैयाको अस्पताल निर्माण गर्ने निर्णय अनुरुप भवनको डिपिआरको काम शुरु भईसकेको छ । सरकारले निर्णय गरे अनुरुप स्थानिय तहहरुमा अस्पताल बन्न सके जिल्लाका सवै स्थानिय तहका नागरिकहरुलाई स्वास्थ्य सेवामा सहज पहुँच पुग्ने आम नगारिकको विश्वास छ ।








प्रतिक्रिया राख्नुहोस्