३ भन्सार एकीकृत गर्ने योजना अझै अधुरो
वीरगञ्ज । वीरगञ्जमा निर्माण गरिएको एकीकृत जाँच चौकी आईसीपी सञ्चालनमा आएको ३ बर्ष वितिसक्दा पनि वीरगञ्ज नाकाबाट हुने सम्पूर्ण आयात निर्यात आईसिपीमै ल्याउने योजना अझै पुरा हुन सकेको छैन ।
वीरगञ्ज–रक्सौल नाका पर्ने वीरगञ्ज भन्सार, सिर्सियाको सुक्खा बन्दरगाह र हाल संचालनमा आएको आईसीपीमै गाभेर आयातनिर्यातलाई पारदर्शी र छिटो छरितो बनाउने लक्ष्य नेपाल भारत दुवै देशका सरकारले लिए पनि लक्ष्य अझै पुरा हुन नसकेको व्यवसायिहरुले बताएका छन् ।
कोरोना महामारीका बेला नेपाल–भारत सिमाना बन्द भएपछि वीरगञ्ज–रक्सौल इनर्वा नाकाको अधिकांश कारोबार आईसीपीमा केन्द्रित भइसकेको छ । तर, यो नाकालाई यात्रु शाखामा सीमित गर्ने भन्सार प्रशासनको योजनाले गति लिन सकेको छैन ।
कोरोनाका कारण गत चैत यता सीमा बन्द भएपछि भन्सारको अधिकांश काम आईसीपीमा केन्द्रित भइसकेको वीरगञ्ज भन्सारका अधिकृत रमेश सुकमनीले बताउनुभयो । अहिले भारतीय आयल निगमको रक्सौल डिपोबाट भित्रिने पेट्रोलियम पदार्थको केही परिमाण, तरकारी, क्लिंकर, कोइला, आइरनओर, स्ल्यागलगायत केही मालसामान मात्र इनर्वाबाट भित्रिन्छन् ।
इनर्वालाई यात्रु शाखा बनाएर आयात निर्यात व्यापारलाई आईसीपीमा सार्न वीरगञ्ज भन्सारले स्क्यानरसहितको पूर्वाधार निर्माणको काम पनि थालेको थियो । नाकालाई एकीकृत गर्न सुक्खा बन्दरगाह भन्सारलाई आईसीपीमा सार्ने निर्णय भएकै १ वर्ष बित्न लागिसकेको छ । तर, यी भन्सारलाई आपसमा गाम्ने मन्त्रिपरिषद्को निर्णय समेत कार्यान्वयन नहुँदा समस्या भएको व्यवसायीहरुले बताएका छन् ।
विशेष गरी भारतको रक्सौल रेल यार्डबाट आईसीपीसम्मको पहुँच मार्ग सहज नहुँदा समस्या भएको र करीब १ किलोमीटर दूरीमा रहेका यी संरचनालाई जोड्ने सम्पर्क सडक सहज हुने हो भने वीरगञ्ज–रक्सौल रूटबाट आउने सम्पूर्ण मालसामान आईसीपीमा लैजान सकिने वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रदीप केडियाले बताउनु भयो ।
सुक्खा बन्दरगाहलाई आईसीपीमा गाभ्नकै लागि यी दुई संरचनाका बीचमा पर्ने ६२ बिगाहा जग्गा अधिग्रहणको योजना सरकारले अगाडी बढाएको छ । मुख्य नाकाका तीनओटा भन्सार एकीकृत संरचनामा आएपछि राजस्व चुहावट र अवैध आयात निर्यात नियन्त्रणमा सहयोग पुग्ने व्यवसायीहरुले बताएका छन् ।








प्रतिक्रिया राख्नुहोस्