तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंजमा उपचारको क्रममा बाराका एक जना कोरोना सङ्क्रमितको मृत्यु

वीरगञ्ज । वीरगंजमा उपचारको क्रममा बाराका एक जना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ ।

मृत्यु हुनेमा बारा जिल्लाको निजगढ नगरपालिका वडा नम्बर ९ निवासी ६२ वर्षीय वृद्ध रहेको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तमाङ्गले जानकारी दिनुभयो ।

नेशनल मेडिकल कलेज शिक्षण अस्पताल बीरगन्जद्वारा सञ्चालित बाबा होटलको आइसोलेसनमा उपचाररत वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।

उच्च ज्वरो र श्वास प्रश्वासमा समस्या देखिएपछि वृद्धलाई परिवारका सदस्यले बिहिबार उपचारका लागि नेशनल मेडिकल कलेजमा भर्ना गराएका थिए ।

कोरोनासँग मिल्दो जिल्दो लक्षण देखिएपछि कात्तिक १३ गते उनको पिसिआर परिक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएपछि सोही दिनदेखि बाबा होटल आइसोलेसनको आइसियू कक्षमा उपचार गराइरहेका उनको आज बिहान ५ः४५ तिर निधन भएको अस्पतालका चिकित्सक डा.परवेज अन्सारीले जानकारी दिनुभयो ।

चिकित्सकका अनुसार अस्पताल भर्ना हुँदा उनको अवस्था गम्भीर थियो । वृद्धको शवलाई व्यवस्थापन गर्न परिवारका सदस्य, नेपाली सेना र शसस्त्र प्रहरीलाई जानकारी गराइएको डा.अन्सारीले बताउनुभयो ।

बाबा होटलको आइसोलेसनमा अहिले पनि चार जना कोरोना सङ्क्रमित उपचाररत छन् । सबै सङ्क्रमितको आइसियूमा राखेर उपचार चलिरहेको नेशनल मेडिकल कलेज शिक्षण अस्पतालको अस्थायी कोभिड होटल बाबा इन्टरनेशनलका प्रमुख डा.असरफ हुसैनले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button