तपाईँ सुन्दै हुनुहुन्छः

चार जिल्लाका सडक मर्मत सम्भार तथा विस्तार कार्य गरिँदै

तनहुँ- सडक डिभिजन कार्यालय दमौलीको कार्यक्षेत्रमा रहेको तनहुँ, गोरखा, लमजुङ र मनाङ जिल्लाका तथा पृथ्वीराजमार्ग अन्तर्गतका सडक मर्मत सम्भार र विस्तार गर्ने कार्यलाई तीव्ररूपमा अघि बढाइएको छ ।

आर्थिक वर्ष ०७६/०७७ मा कोभिड–१९ कारण निर्माण कार्य प्रभावित हुँदा कामले गति लिन नसकेपछि यस आर्थिक वर्ष ०७७/०७८ को शुरुदेखि नै सडक मर्मत सम्भार र विस्तार गर्ने कार्यलाई तीव्ररूपमा अघि बढाइएको हो ।

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको पूर्वमा मुग्लिनदेखि पश्चिम कोत्रेसम्म करिब ७२ किलोमिटर दूरीमा रहेको छ । राजमार्गमा रहेका खाल्डाखुल्डी पुर्ने र छेउछाउका सडक बिग्रँदै गएका स्थानमा कालोपत्रे गरी सिल गर्ने कार्य गरिएको डिभिजन कार्यालय दमौलीका सूचना अधिकारी एवं इन्जिनीयर सचिनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

पृथ्वीराजमार्ग हुँदै आसपास जोडिने आँबुखैरेनी–गोरखा, डुम्रे–बेँशीशहर खण्ड, डुम्रे–बन्दिपुर, तनहुँ–लमजुङ, लमजुङ–मनाङलगायतका सडकखण्डमा आवश्यकता अनुरूप मर्मत सम्भार कार्य अघि बढाइएको उहाँले बताउनुभयो ।

चार जिल्लाका सडक मर्मत सम्भार तथा विस्तारका लागि आर्थिक वर्ष ०७७/०७८ का लागि रु २२ करोड बजेट विनियोजन गरिएको छ । सडकअन्तर्गतका कतिपय योजनाको ठेक्कापट्टा गर्ने कार्य सम्पन्न भइसकेको छ । उहाँले भन्नुभयो, “अब छिट्टै काममा लगाउन मात्रै बाँकी रहेको छ ।” सङ्घीय सरकार अन्तर्गतका सडकहरुमा बजेटले पुगेसम्म आवश्यक स्थानमा मर्मत तथा सम्भार कार्य गर्दै आएको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ ।

कतिपय सडकको छेउछेउमा रहेको जमिनलाई सदुपयोग गर्दै सडक फराकिलो बनाउने र जोखिम स्थानहरुमा पिलर निर्माण गर्ने कार्यसमेत गरिएको छ ।

पृथ्वीराजमार्गसँगै अन्य सडकका बीच भागमा रहेका खाल्डाखुल्डी नपुरिँदा सवारी दुर्घटना बढ्न थालेपछि दशैँ अगावै अधिकांश सडकका खाल्डाखुल्डी पुर्ने कार्य सम्पन्न गरिएको उहाँले बताउनुभयो ।

पृथ्वीराजमार्गका सबै स्थानमा सडक निर्माणका कार्य भए पनि तनहुँको बन्दिपुरस्थित डुम्रे बजार क्षेत्रमा भने पानी निकास हुन नसक्दा निर्माण कार्यमा समस्या भएको बताइएको छ । गत वर्ष १८ करोड फ्रिज आर्थिक वर्ष ०७६/०७७ मा रु १८ करोड बजेट फ्रिज भएको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ ।

सडक मर्मत सम्भार तथा विस्तार कार्यका लागि ठेक्का लागे पनि कोभिड–१९ का कारण काम शुरु हुन नसक्दा बजेट फ्रिज भएको हो । गत वर्ष पनि रु २२ करोड नै बजेट विनियोजन भएको थियो ।  यस वर्ष बजेट फ्रिज नहुने गरी सडक निर्माणका कार्यलाई निरन्तरता दिइएको डिभिजन कार्यालय दमौलीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button