तपाईँ सुन्दै हुनुहुन्छः

दुधले बजार नपाएपछि सस्तोमा विक्री हुँदै

रुपन्देही । कोराना संक्रमणका कारण बजार पूर्ण रुपमा नखुलेपछि रुपन्देहीमा उत्पादन भएको दुधले बजार पाउन समस्या भएको छ ।

उत्पादनअनुसार दुध बिक्री हुन नसकेपछि डेरी संचालकले कम मूल्यमा बुटवलको चोकचोकमा सस्तो मूल्यमा दुध बिक्री गर्न थालेका छन् ।

देवदहमा रहेको जयदेव डेरी उद्योगले बुटवलको योगीकुटी, कालिकानगर, तिनकुने र लक्ष्मीनगर चोकमा बसेर बजार मूल्यभन्दा २० रुपैयाँ कम मूल्यमा दुध बेचिरहेको छ । बजारमा भैंसीको दुध प्रतिलिटर ८० रुपैयाँका दरले बिक्री भइरहेको अवस्थामा जयदेव डेरी उद्योगले भैंसीको दुध प्रतिलिटर ६० मा बेच्दै आएको छ । उत्पादनअनुसार दुध बिक्री हुन नसकेकाले घाटा खाएर दुध बिक्री गरिएको डेरी उद्योगका सञ्चालक अर्जुन पाण्डेले बताउनुभयो ।

देवदह क्षेत्रमा दुध खपत नभएपछि घाटा खाएर भएपनि दुध बेच्नुपर्ने अवस्था आएको पाण्डेको भनाइ छ । गत असोजदेखि बुटवलको सडकबाट जयदेव डेरी उद्योगले दैनिक ६ सयदेखि ७ सय लिटर दुध बिक्री गर्ने गरेको छ ।

बच्चाबच्ची पढाउन र केही गरेर जीविकोनिर्वाह गर्नका लागि शहर झरेका मानिस कोराना भाइरसका कारण आफ्नै घर फर्किएकाले दुध कम बिक्री हुन थालेको अर्का सञ्चालक लेखनाथ भण्डारीले बताउनुभयो । किसान बचाऔं नाफा गर्दै गरौंला भन्ने नारासहित उपभोक्तालाई गुणस्तरीय दुध सस्तोमा दिइएको भण्डारीले बताउनुभयो ।

डेरी उद्योगहरुले सडकको चोकचोकबाट सस्तोमा दुध विक्री गर्न थालेपछि साना दुध डेरीमा उपभोक्ता कम जान थालेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button