तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा आज थप तीन जना कोरोना संक्रमितको मृत्यु

चितवन । चितवनमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा दुई र भरतपुर अस्पतालमा एक जना संक्रमितको मृत्यु भएको हो ।

राप्ती नगरपालिका वडा नं. ५ निवासी ८४ बर्षीया महिलाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज विहान ४ः१९ बजे मृत्यु भएको छ । कार्तिक ५ गते स्वासप्रश्वास र उच्च ज्वरोको समस्या भई अस्पताल भर्ना हुनुभएका उहाँमा ६ गते कोरोना पुष्टि भएको थियो । उच्च रक्तचाप, बाथ रोग र निमोनियाको समेत समस्या रहेका उहाँलाई सघन उपचार कक्षमा उपचार गरिएको थियो ।

यस्तै चितवन मेडिकल कलेजमै उपचाररत ७० बर्षीय पुरुषको आज विहान ८ः४४ बजे मृत्यु भएको छ । चितवन मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्सालका अनुसार भरतपुर महानगरपालिका वडा नं. ७ निवासी पुरुषको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो । कार्तिक २ गते स्वासप्रश्वास र मृगौलाको समस्या भई अस्पतालमा भर्ना हुनुभएका उहाँलाई सोही दिन कोरोना पुष्टि भएको थियो । उहाँ मृगौला र उच्च रक्तचापको समेत विरामी हुनुहुन्थ्यो ।

यस्तै भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका ७ का ५७ वर्षीय पुरुषको विहीबार राती मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो । कात्तिक ६ गते संक्रमणसहित ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भई अस्पताल भर्ना हुुनुभएको थियो । उहाँलाई गएको असोज २६ गते कोरोना संक्रमण पुष्टि भई होम आइसोलेसनमा बसेको अस्पतालले जनाएको छ । उहाँको स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि उपचारका सबै उपायहरु गर्दा गर्दै मृत्यु भएको अस्पतालले बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button