ढलको पानी प्रशोधन गरी पुनः प्रयोग
रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकामा सडक किनार र पानी जम्ने घोलाहरुमा उम्रिने नर्कट विरुवाको प्रयोग गरी ढलको पानी प्रशोधन गर्ने नमुना प्रयोग संचालनमा आएको छ ।
खस्रो पात र डांठसहित पानीको दलदलमा फस्टाउने नर्कटको जराले फोहोर पदार्थ सोसेर पानीलाई शुद्धिकरण गर्ने र त्यो पानी सिंचाई तथा पशुपंक्षीलाई दिन सकिने विज्ञहरुको भनाइ छ ।
संघीय खानेपानी तथा ढल व्यवस्थापनको आर्थिक सहयोगमा मुर्गिया खानेपानी तथा उपभोक्ता संस्थाले यस्तो योजना संचालन गरेको अध्यक्ष शालिकराम भण्डारीले बताउनुभयो ।
संस्थाले आफ्ना ३ हजारभन्दा बढी उपभोक्ताको घरबाट निस्किने ढल व्यवस्थापन गर्ने सोंच बनाएको संस्थाका अध्यक्ष शालिकराम भण्डारीले बताउनुभयो ।
चार करोड रुपैयाँको लागतमा २०७४ सालमा निर्माण सम्पन्न गरिएको पहिलो योजना सफल भएपछि संस्थाले दोश्रो योजनाको रुपमा वडा नं. ४ को अस्नैयाडांडामा करिब ५ सय घरपरिवारको ढल प्रशोधन केन्द्र निर्माण गरी प्रशोधन गर्न शुरु गरिसकेको छ । यो योजना निर्माणको लागि पनि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको ६ करोड रुपैयाँ नगर प्रमुख चित्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
कार्कीले नगरपालिकाले नगरका सबै खानेपानी संस्थाको सहयोगमा ढल व्यवस्थापन गर्ने लक्ष्य राखेको बताउंनुहुन्छ ।
८० हजारभन्दा बढी जनसंख्या रहेको सैनामैना नगरपालिकामा १८ वटा खानेपानी संस्थाले उपभोक्तालाई खानेपानी वितरण गरिरहेका छन् ।
मानिसहरुले घरमा दैनिक उपयोग गर्ने पानीको ८५ प्रतिशत हिस्सा विभिन्न माध्यमबाट पुन जमिनमा नै विसर्जन हुने विज्ञहरु बताउंछन् । यसरी विसर्जन भएको सबै पानी हानीकारक नभएपनि बाथरुम र भान्साबाट निस्किएको पानीले बाहिर फोहोर देखिने मात्र होईन दुषित समेत हुने गर्छ । तर त्यहि पानीलाई व्यवस्थीत रुपमा प्रशोधन गर्न सकिए गाईवस्तुलाई खुवाउन र सिंचाईका लागि प्रयोग गर्न सकिन्छ ।







प्रतिक्रिया राख्नुहोस्