तपाईँ सुन्दै हुनुहुन्छः

सुकेटार विमानस्थल स्तरवृद्धिका सबै काम ६ महिनामा सकिने 

ताप्लेजुङ । ताप्लेजुङको एक मात्र सुकेटार विमानस्थल स्तर वृद्धिका सबै काम चैत मसान्तसम्म सम्पन्न हुने भएको छ । विमान स्थलमा अहिले टर्मिनल भवनमा रंङरोगन,ग्याबिङको काम,डाँडा काट्ने कार्य तीव्र रूपमा भइरहेको छ ।  धावन मार्गको लेवलिङ र माटो कटानको काम सकिएको नागरिक उड्डयन प्राधिकरण ताप्लेजुङले जनाएको छ ।
चिसोका कारण कालोपत्रे गर्ने कार्यमा तापक्रम मिलाउनुपर्ने भएकोले चैत मसान्तसम्मको पर्खाइ गरी कार्य सम्पन्न गर्ने कार्य योजना रहेको उहाँले बताउनुभयो । प्राधिकरणका अनुसार अघिल्लो वर्षको असोजबाट विमानस्थल स्तर वृद्धिको कार्य सुरु भएको हो ।
अहिलेको स्तर वृद्धिले हाल कायम रहेको लम्बाइ डेढ सय मिटर बढेर ९ सय मिटर हुने छ । धावनमार्ग बाहेक यात्रु प्रतीक्षालय, सुरक्षा जाँचका लागि व्यवस्थित कक्ष निर्माणका कार्यहरू यही बजेटबाट पूरा हुने छ । चालू आर्थिक वर्षमा पनि सुकेटार विमानस्थल स्तरोन्नतिका लागि चार करोड रुपैयाँ बजेट छ ।
आर्थिक वर्ष ०७६/७७ मा विमानस्थल स्तर वृद्धिका लागि १६ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । विमानस्थल स्तर वृद्धिका लागि कृष्ण–बगलामुखी जेभी कन्स्ट्रक्सनले आठ करोड ९९ लाख ५० हजार तीन  सय ४९ रुपैयाँमा ठेक्का पारेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button