तपाईँ सुन्दै हुनुहुन्छः

छोरीलाई गोली हान्ने बुबा कारागार चलान

ओखलढुङ्गा-ओखलढुंगामा आफ्नै छोरीलाई गोली हान्ने एक पुरुष कारागार चलान भएका छन् । भरुवा बन्दुक प्रहार गरेर छोरीलाई गम्भीर घाइते बनाउने मोलुङ गाउँपालिका वडा नं ७ पात्लेका ३३ वर्षीय डम्बरबहादुर तामाङ पुर्पक्षका लागि कारगार चलान भएका हुन् ।
ओखलढुंगा जिल्ला अदालतको आदेशमा तामाङलाई कारागार चलान गरिएको जिल्ला प्रहरी प्रमुख रुपेश खड्काले जानकारी दिनुभयो ।
तामाङविरुद्ध हातहतियार खरखजना तथा ज्यान मार्ने उद्योगको मुद्दा चलाइएको थियो । तामाङले १३ वर्षीया छोरी फुरीमाया तामाङमाथि असोज १६ गते साँझ भरुवा बन्दुक प्रहार गरेका थिए । बन्दुकको छर्रा लागेर फुरीमाया गम्भीर घाइते भएकी थिइन् । प्रहरीले आरोपित तामाङलाई असोज १७ गते पक्राउ गरेको थियो ।

बालिकाको दाहिने खुट्टाको घुँडाभन्दामाथि बन्दुकको छर्रा लागेर घाइते बालिकाको उपचार भईरहेको छ । आर्थिक अवस्था नाजुक भएकी उनको उपचारार्थ वडाअध्यक्ष हेमबहादुर सुनुवारले सहयोग रकम जुटाउन लागि परेका छन् ।

अहिले सम्म १६ हजार २ सय ७५ रुपैयाँ सहयोग उपलब्ध गराईएको वडा अध्यक्ष सुनुवारले बताउनुभयो । के कारणले छोरीलाई गोली हानेको भन्ने विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button