सहुलियत मुल्यमा खसी बोका विक्री सुरु

काठमाडौँ । दशैं नजिकिएसँगै विगतमा झै सहुलियत मुल्यमा खसी–बोकाको बिक्री सुरु गरिएको छ ।
नेपालीहरुको महान चाड दशैंलाई लक्षित गरी काठमाण्डौँ थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बिक्री केन्द्रबाट सोमबार विहान ८ बजेदेखि खसी–बोका बिक्री सुरु गरिएको कम्पनीले जनाएको छ ।
सहुलियत मुल्यमा खसी–बोका विक्री सुरु गरिएसँगै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको थापाथलीस्थित बिक्री केन्द्रमा उपभोक्ताको भिड बढेको छ ।
मकवानपुर, दाङ् लगायतका विभिन्न जिल्लाहरुबाट एक हजार खसी–बोका ल्याउने योजना बनाइएकोमा आइतबार साँझसम्म ४ सय ५ वटा खसी बोका–विक्रि केन्द्रमा ल्याई विक्री सुरु गरिएको कम्पनीले जनाएको छ ।

थप खसी–बोका ल्याउने क्रम जारी रहेको छ भने उपभोक्ता र बजारको माग अनुसार थप गर्न सकिने पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सुचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिनुभयो ।
विगतका वर्षहरुमा खसी बोकासँगै च्याङग्राको पनि माग हुदै आएको र त्यस अनुसार विक्री गरिएकोमा यसवर्ष भने कोरोना संक्रमणका कारण मागमा समेत कमी आएको र हिमाली तथा पहाडी भेगमा नै च्याङग्राको उपलब्धतामा कमी र अत्याधिक महंगो पर्ने भएकाले कम्पनीले च्याङ्ग्रा विक्री नगर्ने जनाएको छ ।
खसी–बोकाको मुल्य भने गतवर्षकै सरह प्रतिकिलो ५६० रुपैयाँ तोकिएको छ । जसमा प्रतिकिलो १० रुपैयाँ छुट दिएर ५ सय ५० रुपैयाँमा खसी–बोका विक्री गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी शर्मिला न्यौपानेले सुवेदीले जानकारी दिनुभयो ।
उपत्यकामा कोरोना संक्रमणको जोखिम बढ्दै गएपनि सहुलियत मूल्यमा खसी बोका पाईने भएकाले थापाथलीमा उपभोक्ताको भिँड बढेको देखिन्छ । यद्यपि, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले संक्रमणको जोखिमलाई मध्यनजर गरीे स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरु अपनाएर विक्री गरिरहेको जनाएको छ । सस्तोमा खसी बोका किन्न पाईने नाममा सुरक्षालाई ख्याल नगर्ने हो भने खसी बोकासँगै कोरोना भित्रिन सक्ने जोखिमप्रति भने उपभोक्ता स्वयं सचेत हुन आवश्यक छ ।








प्रतिक्रिया राख्नुहोस्