तपाईँ सुन्दै हुनुहुन्छः

दशैतिहार घरमै मनाउन आग्रह

बैतडी । बैतडीमा दशैतिहार घरमै मनाउन आग्रह गरिएको छ । भिडभाड गर्दा कोरोना भाइरसको जोखिम बढ्ने भएकोले घरमै दशैैतिहार मनाउन आग्रह गरिएको हो । कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले घरमा चाडपर्वको बेला मानिसको आवतजावतले संक्रमण फैलने भएकोले घरमै बसेर दशैंतिहार मनाउन आग्रह गरेको हो ।

घरमा पनि सामाजिक दुरी कायम गर्दै स्वास्थ्यका मापदण्ड पालना गर्दै चाडपर्व मनाउन अनुरोध गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो । यसका साथै बैठकले जिल्लामा हुने सबै प्रकारका मेला, जात्रा, बलि चढाउन समेत रोक लगाउने निर्णय गरेको छ । यसका साथै सार्वजनिक यातायातमा अनिवार्य स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न निर्देशन दिइएको छ ।

सार्वजनिक सवारीमा चैत ११ भन्दा अघि कायम रहेको भाडा मात्रै लिन पाउने जनाएको छ । दशैंतिहारका बेला सामाजिक जमघट, खेलकुद, राजनीतिक दल तथा भातृ संगठनहरुलाई भिडभाड हुने गरी आमसभा गोष्ठि तथा शुभकामना आदानप्रदानका कार्यक्रम नगर्न आग्रह गरिएको छ ।

बैठकले टोलटोलमा सचेतनामूलक माइकिंग गर्नुका साथै अनुगमन कार्य पनि जारी राख्ने निर्णय गरेको छ । यदि कसैले निर्णयको अटेरी गरे संक्रामक रोग ऐन २०२० तथा अन्य प्रचलित कानुनअनुसार कारवाही हुने चेनावनी समेत दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button