नारायणी अस्पताल वीरगञ्जमा आधुनिक अक्सिजन प्लान्ट स्थापना गरिँदै
वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा आधुनिक अक्सिजन प्लान्ट स्थापना हुने भएको छ ।
वीरगञ्जमा आज सम्पन्न सर्वदलीय बैठकले नारायणी अस्पतालमा नयाँ र आधुनिक प्रविधियुक्त अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको हो ।
सर्वदलिय वैठकमा पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद विमल प्रसाद श्रीवास्तवले आफ्नो संसदीय कोषको रकमबाट २ करोड भन्दा बढीको लागतमा अक्सिजन प्लान्ट निर्माण गर्ने घोषणा गर्नु भएको छ ।
अक्सिजन प्लान्ट स्थापना भएपश्चात अस्पताल सिलिण्डरको झन्झटबाट मुक्त हुनेछ । सांसद् श्रीवास्तवले प्लान्ट निर्माणपछि प्रत्येक बेडमा पाइपको माध्यमले अक्सिजन पास हुने र आवश्यकता समाप्त भएपछि आफै बन्द हुने प्रविधियुक्त मेसिन पनि जडान गरिने बताउनु भयो ।
संसदको उद्योग वाणिज्य श्रम तथा उपभोक्ता हित समितिका सभापति समेत रहनु भएका श्रीवास्तवले प्लान्ट स्थापनासँगै अन्यत्रबाट अख्सिजनको सिलिण्डर मगाएर सप्लाइ गर्ने पुरानो परम्पराको अन्त्य हुनुका साथै बन्द र हडतालमा समेत सिलिण्डरको अभावमा रोगीहरु बच्न सक्ने भन्दै यसलाई आफूले प्राथमिकतामा राखेर काम गर्न लागेको बताउनु भयो ।
श्रीवास्तवले तत्काल आफ्नो संसदीय विकास क्षेत्र कोषको रकमबाट २ करोड लगानी गर्ने प्रतिबद्धता समेत व्यक्त गर्र्नु भयो ।
प्लान्ट निर्माणको लागि आवश्यक पर्ने थप रकम वीरगञ्ज महानगरपालिकाले उपलब्ध गराउने वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले जानकारी दिनुभयो ।
सांसद् श्रीवास्तवको निजी निवासमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस पर्साका सभापति अजयकुमार द्विवेदी, प्रदेश सभाका सदस्य भिमाकुमारी यादव, जसपाका नेता रामनरेश यादव, अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्रकिशोर लाभ, मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सञ्जयकुमार ठाकुर लगायतको सहभागिता रहेको थियो ।







प्रतिक्रिया राख्नुहोस्