लागु औषध ब्राउन सुगरसहित दुई जना पक्राउ

सप्तरी । सप्तरीमा लागु औषध ब्राउन सुगरसहित दुई जना युवा पक्राउ परेका छन् । तिलाठी कोइलाडी गाउँपालिका –७ का १९ बर्षीय निरज शर्मा र २७ वर्षीय भरत शर्मालाई इलाका प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको हो ।
उनीहरुलाई अग्निसाइर कृष्णासवरण गाउँपालिका –५ बकधुवावाट नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी नरेश कुमार सिंहले बताउनुभयो ।
महदेवा गाउँबाट महुलीतर्फ जाँदै गरेको स७प १८६५ नम्वरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा पछाडि बसेका भरतको साथबाट ५० ग्राम ब्राउन सुगर वरामद भएको सिंहले जानकारी दिनुभयो ।
‘ब्राउन सुगर लिएर आउँदै गरेको सुचना पाएपछि हामीले मोटरसाइकल, साइकल र पैदल यात्री समेतलाई चेकजाँच गर्यौ’ उहाँले भन्नुभयो –‘अन्तिममा उनीहरु पक्राउ परेका हुन । प्लाष्टिकको एउटा पोकाभित्र १०÷१० ग्राममा पाँच पोका बनाएर बोकेका रहेछन् ।’
उनीहरुको साथबाट ब्राउन सुगरसहित दुई थान मोबाइल, छ हजार नौ नगद पनि बरामद भएको प्रहरीले जनाएको छ ।
उनीहरुले ब्राउन सुगर कहाबाट ल्याए र कुन उद्देश्यले बोकेको हो भन्ने विषय अझै खुलेको छैन । ‘आफनै प्रयोगका लागि हो वा बेचविखनको उद्देश्यले बोकेको हो भन्ने खुलिसकेको छैन’ सिंहले भन्नुभयो–‘यस बिषयमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।’
पक्राउ परेका दुवै जनालाई, ब्राउन सुगर, दुई थान मोबाइल, नगद रुपैँया र मोटरसाईकलसहित इलाका प्रहरी कार्यालय कञ्चनपुरमै राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्