तपाईँ सुन्दै हुनुहुन्छः

खलंगामा जुम्ली फूलको व्यापार 

जुम्ला  । कर्णालीकै प्रसिद्ध चन्दननाथ मन्दिरमा नयाँ लिङ्गा फेरिएसँगै जुम्लामा घटस्थापना भित्राउने र  योसँगै दशैँ  सुरु भएको मानिन्छ । घरका मूल ढोकामा माला लगाउने यहाँको परम्परागत चलन छ ।  फूलको अभावमा यहाँका घरघरमा यसअघि प्लास्टिकका फूलहरू देखिने गरेकोमा यो बर्ष भने जुम्ली फुलका माला प्रयोग भइरहेको देखिन्छ ।
फुलको अभावमा घटस्थापनाका दिन चन्दननाथ भैरवनाथ मन्दिरमा पुजा गर्न जाँदा अधिकांश मानिसहरु खाली हात नै मन्दिर जान्थे  । यस पटक भने जुम्ली फुलले यहाँको अभावलाई टारेको छ ।  यस वर्ष जुम्लाका दुई दिदी भाइले डोकोमा  जुम्ली फूल ल्याएर विक्री गरेपछि फुलको अभावको समस्या हटेको हो । उनीहरूले यस वर्ष दसैँ अवधिभर जुम्ली फूलको व्यापार गर्ने बताएका छन् ।
‘विगतका वर्षमा सबैका हातमा प्रायः आयातित प्लाष्टिकका माला हुन्थे । बजारका रहेक पसलमा आयातित माला मात्र देखिन्थ्यो । तर यस वर्ष थोरै भए पनि जुम्ली फुलले बजार पाएको देख्दा  खुसी लाग्यो’ पुष्प व्यवसायी पुस्तक धरलाले भन्नुभयो ।
चन्दननाथ नगरपालिका ८ की पुष्प व्यवसायी धरला जुम्लामा व्यवसायीक फूल खेती नहुँदा आयातित मालाले बजार पाएको बताउनुहुन्छ । ‘हामीले गत वर्षबाट जुम्ली फूलको व्यापार थालेका छौ । करिब १२ प्रकारका फूल उत्पादन गरी बिक्री हुँदै आएको छ ।” घटस्थापनाका दिनदेखि  दशैँसम्म निरन्तर बजारमा फूल बेच्ने धरलालले बताउनुभयो  ।
आयातित मालालाई पूर्ण रूपमा रोक लगाउन एक्लो प्रयासले सम्भव नहुने उहाँ बताउनुहुन्छ । ‘जुम्लामा पनि फूलको व्यवसायीक खेती सम्भव छ । पुष्प व्यवसायबाट पनि आम्दानी राम्रै हुन्छ भन्ने उदाहरण देखाउन आफु जुटेको’ धरलाले बताउनुभयो । उहाँका अनुसार घटस्थापनाका दिन मात्रै करिब १५ हजार बराबरको फूल बिक्री भएको छ ।
चिउरीखोला फूल उत्पादन फर्ममा स्थानीय जातका टोकरे पुल, रोटडन्डन,लोट्स लगायतका विभिन्न फूल उत्पादन भइरहेको छ ।
सदरमुकामदेखि १० किलोमिटर जती टाढाबाट ढोकोमा बोकेर बजारका चोकचोकमा गई जुम्ली फूलको प्रर्बद्धनका लागि पनि बिक्री गरिरहेको धरलाले उल्लेख गर्नुभयो  । तर केही व्यक्ति जुम्ली फुलभन्दा आयातित फूललाई महत्त्व दिन्छन् । स्थानीय फूललाई यो पनि बेच्न ल्याएको भन्दै खिस्सा गरेको देख्दा दुःख लाग्ने गरेको उहाँको गुनासो छ ।
पकेट क्षेत्रका आधारमा पुष्प व्यवसायमा लगानी गर्न सकेको खण्डमा जुम्लामा आयातित फूलमा रोक लगाउने सकिने उहाँको दाबी छ । पुस्तक धरला र उनका भाइ राजेन्द्र धरलाले घटस्थापनादेखि  दशैँसम्म दैनिक जुम्ला सदरमुकाममा फूल ल्याएर बेच्ने बताउनुभएको छ । प्रति माला ३० रुपैयाँ  ५० रुपैयाँ र एक सय मूल्यका साथै प्रति फूलको गुच्छा ५०,६० र १ सय रुपैयाँमा विक्री गरिरहेको पुष्प व्यवसायी राजेन्द्र धरलाले बताउनुभयो ।
धरलालाले भन्नुभयो, “आयातित मालाले बजार भरिँदा भव्य समाचार बन्छ । तर एक किसानले आफ्नै बारीको स्थानीय फूल ल्याएर विक्री गर्दा नत समाचार बन्छ, नत प्रचार हुन्छ यही नै हामी किसान, व्यापारीको विडम्बना हो ।” तर आफ्नो मेहनत बारे पहिलो पटक मिडियामा सुनाउन पाउँदा पुस्तक र राजेन्द्र धरलाले खुसी व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button