तपाईँ सुन्दै हुनुहुन्छः

मिर्गौलापीडितलाई साढे छ लाख सहयोग

दमौली- दुवै मिर्गौला फेल भएर डायलासिस गराइरहनुभएका तनहुँको व्यास नगरपालिका–१४ निवासी सन्तोष रानामगरलाई अमेरिकाबाट रु साढे ६ लाख सहयोग जुटेको छ । अमेरिकाको टेक्सास र न्यूयोर्कमा रहनुभएका भीम थापा, भुवन आले, आशिष थापा र कुलदीप रानामगरको पहलमा रु छ लाख ४५ हजार २१० सहयोग जुटेको हो ।

उक्त रकम शनिबार पीडित रानालाई हस्तान्तरण गरिएको छ । रकम सङ्कलनकर्ता भीम थापाका बुवा ताराबहादुर थापा र सोही वडाका अध्यक्ष काजीमान श्रेष्ठले पीडितको घरमा पुगेर उक्त रकम हस्तान्तरण गर्नुभएको हो । अमेरिकामा रहेका नेपालीहरुले सङ्कलन गरेको रकमले पीडितको उपचारमा सहयोग पुग्ने वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

यसअगाडि स्थानीय युवाले गठन गरेको सन्तोष बचाउ अभियानमार्फत रानाको उपचारका लागि रु छ लाख ५८ हजार ६२४ सहयोग सङ्कलन भएको थियो । उक्त रकम पनि पीडितलाई हस्तान्तरण गरिसकिएको छ ।

सन्तोष बचाउ अभियानका संयोजक युवराज आलेले वैदेशिक रोजगारीका लागि विदेशमा रहेका नेपाली, जिल्लाभित्रकै विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट सहयोग रकम सङ्कलन गरिएको जानकारी दिनुभयो ।

मिर्गौलापीडित रानाले देश तथा विदेशबाट उपचारका लागि सहयोग गर्ने सबै सहयोगदाताप्रति आभार व्यक्त गर्दै अब बाँच्ने आशा पलाएको बताउनुभयो । गत वर्षदेखि दुवै मिर्गौलाले काम गर्न छाडेपछि रानाले डायलासिस गर्दै आउनुभएको छ ।  मन्दिर स्तरोन्नतिका लागि रु तीन लाखको अक्षयकोष व्यास नगरपालिका–५ सिर्दीमा रहेको सत्यवती गुफाको स्तरोन्नतिका लागि रु तीन लाखको अक्षयकोष स्थापना गरिएको छ ।

समुदायस्तरबाट रकम सङ्कलन गरी मन्दिरमा रु तीन लाखको अक्षयकोष स्थापना गरिएको मन्दिर संरक्षण समितिका अध्यक्ष विष्णुप्रसाद पण्डितले जानकारी दिनुभयो । स्थानीयस्तरबाट उठेको अक्षयकोष सिर्दी टोल विकास समितिका अध्यक्षलाई हस्तान्तरण गर्दै व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले स्थानीय जनसमुदायबाट नै सङ्कलित रकमले मन्दिरको स्तरोन्नति र विकासमा सहयोग पुग्ने बताउनुभयो ।

एक हजार पाँच स्थानीयवासीसँग रु ३०० का दरले रकम सङ्कलन गरेर अक्षयकोष स्थापना गरिएको हो । सत्यवती गुफा गुप्तेश्वर महादेव मन्दिरको विशिष्ट धार्मिक विशेषता रहेको स्थानीयवासी बताउँछन् । मन्दिरको दर्शन गरेमा मनले चिताएको इच्छा पूरा पण्डितले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button