तपाईँ सुन्दै हुनुहुन्छः

चाडपर्वमा दुर्घटना न्युनीकरण गर्न लुम्बिनी प्रदेश सरकारको विशेष योजना

रामप्रसाद आचार्य, रुपन्देही । लुम्बिनी प्रदेश सरकारले दशैंतिहारमा हुने सडक दुर्घटना न्युनीकरण गर्न विशेष रणनीति बनाएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले सर्वपक्षीय छलफल गरी विशेष अनुगमन समिति निर्माण गरी दुर्घटना न्युनीकरणमा काम गर्ने निर्णय योजना बनाएको हो ।

प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले चाडवाडका बेला सवारी साधनको सञ्चालन धेरै हुने भएकाले दुर्घटना रोक्न विभिन्न कार्यक्रम बनाइएको बताउनुभयो ।

सरकारले पहाडी कच्ची सडकमा चुस्त अवस्थामा रहेका साधन चलाउन निर्देशन दिएको छ । कालोपत्रे सडक मर्मत, ट्राफिक व्यवस्थापन, ओभरलोड नियन्त्रणमा कडाई गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिएको छ ।

मन्त्रालयका निर्देशक भिमार्जुन पाण्डेले चाडवाडमा अग्रिम टिकट बुकिङको व्यवस्था गर्दै यातायातका साधनको सहज उपलब्धताका लागि व्यवसायीबाट प्रतिवद्धता गरिएको बताउनुभयो ।

यातायात सञ्चालनका क्रममा कोरोना सम्बन्धी सबै मापदण्ड अनिवार्य पूरा गर्न निर्देशन समेत जारी गरिएको छ ।

यातायातको सहज व्यवस्थापनका लागि प्रदेश स्तरीय सार्वजनिक यातायात व्यवस्था अनुगमन समिति गठन गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिवको संयोजकत्वमा समिति गठन गरिएको हो ।

समितिमा मुख्यमन्त्री कार्यालय, भौतिक पूर्वाधार मन्त्रालयका सचिव, प्रदेश प्रहरी, सशस्त्र प्रहरी, प्रदेश ट्राफिक, यातायात व्यवसायी, सुरक्षित यात्रा अभियान नेपालका प्रतिनिधि सदस्य रहने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button