तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाले ताराखोला गाउँपालिकामा शिक्षाका योजना प्रभावित

बागलुङ- बागलुङको ताराखोला गाउँपालिकाले सञ्चालन गरेको शिक्षा क्षेत्रका योजना प्रभावित भएका छन् । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि विद्यालयलाई प्रयोगमा ल्याउँदा पूवार्धार विकासका काम प्रभावित भएका हुन् ।

गाउँपालिकामा ठूलो संख्यामा भारत र तेस्रो मुलुकबाट आउनेलाई राख्नेगरी विद्यालयलाई क्वारेन्टिन बनाउँदा विकासका काम प्रभावित भएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तिले बताउनुभयो । कोरोनाका कारण विद्यालय भवनदेखि शौचालय निर्माण र मर्मतसम्मका काम प्रभावित भएका हुन् ।

गाउँपालिकाले गत आर्थिक वर्षमा शिक्षा क्षेत्रमा ४० योजनामा बजेट विनियोजन गरेको थियो । तीमध्ये ३४ योजना मात्रै सम्पन्न भएका छन् । अन्य पूर्वाधारका योजनामा खासै असर नगरेपनि विद्यालयमा क्वारेन्टिन बनाउँदा योजना प्रभावित भएको घर्तिको भनाई छ ।

गत वर्षदेखि सञ्चालनमा ल्याउने भनिएको उद्योगग्रामको काम पनि कोभिड–१९ का कारण प्रभावित बनेको छ । प्रदेश सरकारसँगको सहकार्यमा निर्माण गरिएको उद्योगग्राममा चालु वर्षमा संरचनाहरु निर्माण हुनेछन् ।

यस्तै, ४० लाख खर्चेर खेलमैदान निर्माण पनि कोरोना कहरकै बिचमा भयो । वडा नं ४ को प्रशासनिक भवन ७५ लाख खर्चेर बनाइएको सूचना अधिकारी प्रकाश गैरेले बताउनुभयो । सामुदायिक स्वास्थ्य इकाईको भवन र केही महत्वपूर्ण सडकका काम भने कोरोना कहरकै बीचमा सम्पन्न भएको गैरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button