कपास खेती गर्ने किसानलाई रु दश लाख
खोटाङ- खाँडी कपडा बुन्न प्रयोग गरिने कपास खेतीलाई प्रवद्र्धन गर्न हलेसी तुवाचुङ नगरपालिकाले यस वर्ष रु दश लाख बजेट विनियोजन गरेको छ । कच्चा पदार्थ (कपास) अभावमा सङ्कटमा पर्दै गएको खाँडी कपडा बुन्ने उद्योग पुनः सञ्चालन गर्न नगरपालिकाले कपास खेतीमा लगानी गर्न लागेको हो ।
पछिल्लो समय सङ्कटमा पर्दै गएको पुख्र्याैली व्यवसायलाई जगाउन नगरपालिकाको तर्फबाट किसानलाई कपास खेती गराउन आर्थिक वर्ष २०७७÷०७८ बजेट विनियोजन गरिएको नगर उपप्रमुख विमला राईले बताउनुभयो ।
कपास खेतीका लागि ७ नम्बर वडा कार्यालयको तर्फबाट आर्थिक वर्ष २०७६÷०७७ मा १५ जना महिलालाई कपास खेती प्रवद्र्धनसम्बन्धी तालिम दिइएको वडाध्यक्ष चइन्द्र राईले बताउनुभयो । यद्यपी, व्यावसायिक कपास खेतीका लागि क्षेत्र भने छनोट गर्न बाँकी रहेको नगरपालिकाले जनाएको छ ।
बाबुबाजेको पालासम्म हलेसीका विभिन्न क्षेत्रमा कपासको धागोबाट खाँडीका कपडा उत्पादन गर्ने गरिएको थियो । स्थानीय कृषकले कपास खेती गर्न छाडेपछि कच्चा पदार्थ अभावमा अहिले खाँडी कपडा उत्पादन हुन छाडेको छ । कोगटी र ढ्याङ्ग्रे खेती गरेर कपास निकालेपछि कपडा तयार पर्ने गरिएको छ ।
कपासबाट उत्पादन गरिएको दौरा–सुरुवाल पुग्ने कपडा प्रतिथान रु १५ हजार र कोगटीको दौरा–सुरुवाल पुग्ने कपडा प्रतिथान रु २० हजारमा बिक्री हुने गरेको छ । कोगटीबाट उत्पादन गरिने खाँडी कपडाको माग बजारमा उच्च रहेपनि माग धान्न नसकिएको वडा नम्बर–७ महादेविस्थानकी खाँडी कपडा उद्यमी जुनासरी राईले बताउनुभएको छ ।
यसअघि हलेसी क्षेत्रमा उत्पादित खाँडी कपडा बाहिरी जिल्ला तथा विदेशसमेत निर्यात हुने गरेको थियो । त्रिधार्मिकस्थल हलेसी आउने दर्शनार्थी तथा पर्यटकलाई हलेसी क्षेत्रमा उत्पादित खाँडी कपडा बिक्री गर्दा आम्दानीको स्रोतसमेत हुनेको गरेको थियो ।
पछिल्लो समय हलेसी आउने दर्शनार्थी तथा पर्यटकले खाँडी कपडा खोजे पनि उनीहरुलाई उपलब्ध गराउन नसकिएको उद्यमीहरुले बताउने गरेका छन् । दश स्थानीय तह रहेको जिल्लामा खाँडी कपडा उत्पादन तथा अल्लो प्रशोधनका लागि सबैजसो स्थानीय तहले लगानी गरिरहेका छन् । साकेला गाउँपालिकाले मात्तिममा अल्लो प्रशोधन केन्द्र स्थापनाको कामलाई तीव्रगतिमा अगाडि बढाएको छ ।








प्रतिक्रिया राख्नुहोस्