तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा बजार अनुगमनबाट म्याद नाघेको सामग्री बरामद गरी नष्ट

बैतडी । बैतडीमा असोज पहिलो सातादेखि गरिएको बजार अनुगमन कार्य अन्तर्गत सात लाख ३१ हजार आठ सय ६७ रुपैंया बराबरको म्याद नाघेको सामग्री बरामद गरि नष्ट गरिएको छ ।

संयुक्त बजार अनुगमन समितिले जिल्लाका विभिन्न स्थानीय तहमा गरेको बजार अनुगमन गर्दा म्याद नाघेका सामग्री बरामद गरि नष्ट गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख कृष्णदत्त लेखकले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘हामीले दुई स्थानीय तह बाहेक सबै स्थानीय तहमा अनुगमन गरेका छौं । अनुगमनका क्रममा म्याद नाघेका, लेबल नभएका सामग्री बरामद गरेर नष्ट गरेका छौं ।

जिल्लाको पुर्चौंडी नगरपालिकाका विभिन्न बजारमा अनुमगन गर्दा एक लाख ८५ हजार बराबरको म्याद नाघेको सामग्री बरामद गरेर नष्ट गरेको उहाँले बताउनुभयो । यस्तै देहीमाण्डौं र खोड्पे बजारमा गरिएको अनुगमनमा दुई लाख ४७ हजार बढीको सामग्री बरामद गरी नष्ट गरिएको छ ।

यस्तै डिलाशैनी गाउँपालिकामा ५५ हजार नौ ९० रुपैया, दोगडाकेदार गाउँपालिकामा २७ हजार आठ सय ४७, मेलौली नगरपालिकामा ३५ हजार दुई सय १०, सुर्नया गाउँपालिकामा एक लाख एक हजार सात सय ५०, गोठलापानीमा १७ हजार पाँच सय ५०, शाहीलेकमा ५२ हजार सात सय ३०, गढीमा तीन हजार छ सय ८० र दशरथचन्द नगरपालिका–४ का अन्य ठाउँमा चार हजार चार सय बराबरका म्याद नाघेका सामग्री बरामद गरि नष्ट गरिएको लेखकले जानकारी दिनुभयो । बढी जसो बियर, मसला, चाउचाउ, नमकीन लगायतका सामग्री म्याद सकिएका पाइएको उहाँले बताउनुभयो ।

चाडपर्वको बेला हुन सक्ने कालोबजारी रोक्नका लागि संयुक्त बजार अनुगमन समितिले बजार अनुगमन गर्न थालेको हो ।

अनुगमनका क्रममा दर्ता नभएका पसलहरुलाई सम्बन्धित स्थानीय तहमा दर्ता हुन आग्रह गरिएको छ भने मूल्यसूची समेत राख्न आग्रह गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button