तपाईँ सुन्दै हुनुहुन्छः

वायुसेवा निगमको महाप्रबन्धकमा पौडेल

काठमाडौं । सरकारले सहसचिव भरतराज पौडेललाई नेपाल प्रशासन सेवाको समूहीकरण अन्तरगत विशिष्ठ श्रेणीमा बढुवा गरी परराष्ट्र मन्त्रालयमा पदस्थापन गर्ने निर्णय गरेको छ ।

असोज २२ गते बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्न आज सञ्चार तथा सूचना मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले लुम्बिनी विकास कोषको सदस्य सचिवमा काठमाडौं महानगरपालिका वडा नम्बर २१ का सानुराजा शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको बताउनुभयो ।

उहाँले नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा काठमाडौं टोखा नगरपालकिा वडा नम्बर ६ का डिमप्रसाद पौडेललाई र सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा नुवाकोटका डा. बाबुराजा अमात्यलाई नियुक्त गर्ने निर्णय मन्त्रीपरिषद् बैठकबाट भएको जानकारी दिनुभयो ।

सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको सञ्चालक समितिको अध्यक्षमा अर्थ मन्त्रालयका राजश्व सचिव रामशरण पुडासैनीलाई तोक्ने निर्णय गरेको छ ।

मन्त्रीपरिषद् बैठकले पेट्रोलियम पदार्थ तथा ग्याँस मूल्य स्थिरीकरण कोष सञ्चालन दोश्रो संशोधन नियमावली २०७७ स्वीकृत गर्ने निर्णय गर्नुका साथै स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम नियमावली सञ्चालन कार्यविधि २०७७ स्वीकृत गरेको परराष्ट्रमन्त्री ज्ञवालीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button