तपाईँ सुन्दै हुनुहुन्छः

नारायणी अस्पतालमा नेपालकै नमुना ओपिडी सेवा सञ्चालन

वीरगञ्ज । बीरगंजको नारायणी अस्पतालमा कोरोना संक्रमण नियन्त्रणका लागि नेपालकै नमुना ओपीडी सेवा सञ्चालनमा आएको छ ।

अमेरिका तथा युरोपमा अपनाईएको वारी चिकित्सक र पारी विरामी बसेर माईक्रोफोन मार्फत तथा आईटीसँग जोडेर विरामीको अनलाईन उपचार पद्धती नारायणी अस्पतालमा प्रारम्भ गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.संजय ठाकुरले बताउनु भयो ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई न्युन राख्न राष्ट्रिय आविष्कार केन्द्र तथा गैर सरकारी संस्था सानो पाइलाको सहयोगमा नेपाल अमेरिका मेडिकल फाउण्डेशनका अध्यक्ष डा.भुपेश खड्का र पूर्व अध्यक्ष डा.सन्तोष पौडेलको सल्लाह र समन्वयमा अमेरिकामा कोभिडबाट बच्ने गरी ओपीडी सेवा सञ्चालनका लागि आवश्यक प्रविधि जडान गरी भौतिक निर्माण सम्पन्न गरिएको मेडिकल सुपरिटेन्डेन्ट डा. ठाकुरले बताउनु भयो ।

वीरगञ्ज साउनदेखि भदौसम्म देशकै कोरोना संक्रमणको हट स्पट बनेको र सो समयमा नारायणी अस्पतालले प्रदान गर्दै आएका सम्पूर्ण सेवाहरु बन्द भएको अवस्थामा कोरोनाले भन्दा पनि अन्य रोगले विरामी मर्न थाले ।

त्यसपछि वीरगञ्जमा ओपीडी सेवा संचालनमा ल्याउन जनदवाव र आन्दोलन हुन थाल्यो । मन्त्रालयको समेत दवावमा नारायणीमा कोभिडबाट बच्ने गरी अन्य विरामीको सेवा सुचारु गर्न बाध्यात्मक स्थिति सिजना भएसँगै अमेरिका र युरोपमा कोरोना संक्रमणसँगै अपनाईएको उपचार पद्धतिलाई वीरगञ्जमा लागु गरी ओपीडि सेवा सुरु गरिएको डा. ठाकुरले बताउनु भयो ।

नमुना ओपिडी सेवाको एक कार्यक्रमका विच राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख वैज्ञानिक महाविर पुनले उद्घाटन गर्दै कोरोना विरुद्धको युद्धमा अंग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरुको सुरक्षार्थ राष्ट्रिय आविष्कार केन्द्रले विभिन्न उपकरणहरुको आविष्कार गरी स्वास्थ्यकर्मीलाई हस्तान्तरण गरेको बताउनुभयो ।

उहाँले बीरगंजमा निर्माण गरिएको कोभिड १९ प्रोटेक्टेड ओपिडीबाट कोभिड संक्रमण फैलिने सम्भावना न्युन रहेको बताउनु भयो । वैज्ञानिक पुनले नारायणी अस्पताल परिसरमा निर्माण भएको कोभिड – १९ प्रोटेक्टेड ओपिडी नेपालमै नमुना ओपिडी भएको बताउदै अब बीरगन्जमा कोरोना संक्रमणको दायरा बढेपनि अन्य रोगका बिरामीहरुका लागि सुरक्षित स्वास्थ्य सेवा प्रवाह भईरहने दावी गर्नु भयो ।

अस्पतालको ओपिडी वार्डमा प्रवेश गर्नु अगावै बिरामीहरुको शारिरीक तापक्रम मापन गरिनेछ । सामान्यभन्दा बढी तापक्रम भएकाहरुलाई सस्पेक्ट वार्डमा पठाउने र सामान्य भएका लाई यस वार्डमा प्रवेश दिईने डा.ठाकुरले बताउनु भयो ।

अहिले वीरगञ्जमा कोरोना संक्रमणको अवस्थामा अपडाउनमा रहेको र दशैं तिहार, छठ सँगै तेश्रो चरण प्रारम्भ भएमा अप्ठ्यारो हुने बताउदै मेडिकल सुपरिटेन्डेन्ट डा.ठाकुरले मास्क नलगाउने, जथाभावी हिडडुल गर्ने माथि कारवाही गर्नु पर्ने कुरामा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button