मलेसियामा रहेका नेपाली श्रमिकको सामाजिक सुरक्षा व्यवस्थित हुने

काठमाडौं । सरकारले मलेसियामा रहेका नेपाली श्रमिकको सामाजिक सुरक्षा व्यवस्थित गर्ने प्रक्रिया अघि बढाएको छ ।
मलेसिया सरकारको सामाजिक सुरक्षा संस्था (सोक्सो)ले श्रमिकको सामाजिक सुरक्षा व्यवस्थित गर्ने निर्णय गरेसँगै सरकारले नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कार्यक्रममा सहभागी गराउन मलेसिया सरकारसँग समझदारीका लागि प्रक्रिया अघि बढाएको हो ।
बैदेशिक रोजगारीमा रहेका श्रमिकको हकहित संरक्षण तथा सामाजिक सुरक्षालगायतका विषय हेर्दै आएको बैदेशिक रोजगार बोर्डले मलेसियामा रहेका श्रमिकलाई सामाजिक सुरक्षामा सहभागी गराउने प्रक्रिया अघि बढाउन नीतिगत सहमतिका लागि मन्त्रालयमा प्रस्ताव लगेको जानकारी दिएको छ ।
बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले मलेसियामा रहेका श्रमिकलाई सामाजिक सुरक्षामा सहभागी मन्त्रालयसँग नीतिगत सहमति मागिएको र चाडै मलेसियाको सामाजिक सुरक्षा संस्था (सोक्सो)सँग समझदारी गर्ने तयारीमा रहेको जानकारी दिनुभयो ।
उहाँले मलेसियामा नेपाली श्रमिकलाई सामाजिक सुरक्षामा सहभागी गराउन सकिए श्रमिकका पक्षमा निकै महत्वपूर्ण उपलब्धि हुने बताउनुभयो ।
श्रमिकको सामाजिक सुरक्षामा सहभागी गराउन सकिए मलेसियामा कार्यरत श्रमिकले त्यहाँको सामाजिक सुरक्षा संस्था (सोक्सो) मार्फत क्षतिपूर्ति तथा सामाजिक सुरक्षावापतको सुविधा प्राप्त गर्न सक्नेछन् ।
श्रमिक समाजिक सुरक्षा कार्यक्रममा सहभागी भएमा श्रमिकले कामको समयमा दुर्घटनाबाट ज्यान गुमाएमा नजिकको हकदारले तलवको ९० प्रतिसत रकम आजिवन मासिक रुपमा प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी कामको सिलसिलामा दुर्घटनामा परेर अस्थायी रुपमा अपाङ्ग भएमा आर्थिक सहायता पाउने, अपाङ्ग भएर स्वर्देश फर्कनु परे नियमित अपाङ्गता सुविधा पाउने र विरामी परेमा उपचार खर्च पाउने लगायतका सुविधाहरु पाउन सक्नेछन् ।
सरकारले वैदेशिक रोजगारीका लागि संस्थागत रुपमा १ सय १० र व्यक्तिगत श्रम स्वीकृतिमार्फत् १ सय ७२ मुलुकमा खुला गरेको छ ।
बैदेशिक रोजगार बोर्डको तथ्याङ्क अनुसार बैदेशिक रोजगारीमा रहेका कूल ५४ लाख ९६ हजार ४ सय ६० मध्ये मलेसियामा मात्र ३ लाख २५ हजार नेपाली छन् ।
मुलुकको कूल ग्राहस्थ उत्पादनको करीब २३ प्रतिशत हिस्सा बैदेशिक रोजगारीमार्फत आउने गरेको सरकारी प्रतिवेदनले देखाएको छ ।







प्रतिक्रिया राख्नुहोस्