पथरैया नदीको बेलुवाघाटमा पुल नहुँदा सास्ती
टीकापुर– कैलालीको भजनी नगरपालिका–८ स्थित पथरैया नदीको बेलुवाघाटमा पुल नहुँदा नागरिकलाई सास्ती भएको छ । भजनी–८ स्थित दैलेखीटोल, जनकपुर, झवहीबाट जनकपुरसम्मका नागरिकको किनमेल गर्ने बजार टीकापुरको सत्ती, बेलुवा, भजनी र टीकापुर हो । यी बजार आउजाउ गर्न बेलुवाघाटमा पुल नहुँदा हजारौँ नागरिकलाई समस्या भएको छ ।
हुँदा दुई किलोमिटर दूरी पार गरे सत्ती पुगिने त्यहाँका नागरिकलाई अहिले १० किलोमिटर दक्षिणपट्टि वा १५ किलोमिटर झवही गएर नदी पार गर्नुपरेको छ । पुल नहुँदा कष्ट भएको भजनी–८ जनकपुरका अजय तिमिल्सिना बताउनुहुन्छ ।
यो बाटो कृषि प्रयोजनका लागि प्रयोग हुन्छ । मलवारा क्षेत्रका नागरिक धेरैले खेतीपाती गर्छन् । यो बाटो भएर दैनिक हजारौंंँ नागरिक हिँडडुल गर्छन् । यहाँका करिब १० हजार नागरिकले यो बाटोको प्रयोग गर्छन् । यतिखेर धान बिक्री गर्ने सिजनमा पुल नहुँदा समस्या भएको जनकपुरका खेमराज चौधरीले बताउनुभयो ।
बाटो र पुलको समस्याले यहाँका नागरिकलाई स्वास्थ्य सेवा लिन कठिन भएको छ । महिलालाई सुत्केरी तथा गर्भवती अवस्थामा सेवा लिन कठिन भएको निर्मला तिमिल्सिनाको गुनासो छ ।
दुई स्थानीय तह टीकापुर र भजनीलाई जोड्ने यो घाटमा पुल निर्माणका लागि प्रदेश सरकारसँग माग गरिएको भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले बताउनुभयो ।नगरप्रमुख चौधरीले पुल निर्माण भएमा यहाँको व्यापारिक, आर्थिक र सामाजिक विकासमा सहयोग पुग्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्